३५ दिनदेखि निरन्तर आन्दोलनमा चिकित्सकहरू

बुधबार, २४ बैशाख २०८२, १२ : ५०

काठमाडौं- चिकित्सकहरूले विगत ३५ दिनदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरू आन्दोलन गर्दै आएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकका विभिन्न संस्थाहरूबीच सहमति भएपनि संघर्ष समितिले भने आन्दोलन जारी राखेको छ । 

कतिपय निजी मेडिकल कलेजहरूले ३ महिनादेखिको पारिश्रमिक नदिएको तथा आवासीय चिकित्सकहरूलाई धम्की दिइरहेको भन्दै त्यसको अन्त्य नहुँदासम्म आन्दोलन जारी राखिएको हो । 

समितिले केही मेडिकल कलेजहरूले आठौं तहको सरकारी मेडिकल अधिकृत सरह पारिश्रमिक दिन थालेका छन् । तर ती बाहेक अन्य मेडिकल कलेजले अझै पनि तीन महिनादेखिको पारिश्रमिक नदिएको र आवासीय चिकित्सकहरूलाई अनावश्यक धम्की दिने क्रम जारी रहेको भन्दै विरोधका कार्यक्रम यथावत् राखिएको हो । 

समितिले आवासीय चिकित्सकहरूले पारिश्रमिक भुक्तानी नहुँदासम्म आफूले प्रदान गर्दै आएको सेवाहरू बहिष्कार गर्ने जनाएको छ । त्यस्तै उपत्यकाभित्र माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्ना दिने कार्यक्रम समेत यथावत् नै राखेका छन् ।

बुधबार, २४ बैशाख २०८२, १२ : ५०

प्रतिक्रिया