काठमाडौं- नेकपा(एमाले)को आन्तरिक विवाद भौतिक आक्रमणको तहसम्म पुगेको छ । केही दिनयता एमालेमा श्रृंखलाबद्धरुपमा आन्तरिक झडप भएको समाचार सार्वजनिक भइरहेको छ ।
यसैबीच फेरि नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा युवा संघका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा संघका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।
गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो ।
मंगलबार मात्रै एमाले धनुषाको अधिवेशनमा रघुवीर महासेठ र उमाशंकर अरगरियाको गुटबीच कुटाकुट भएको थियो । नेतृत्व हत्याउन भएको होडबाजीका क्रममा धनुषाको अधिवेशनस्थलमै दुई पक्ष भिड्दा केही घाइते भएका थिए ।
यसअघि गत वैशाख १९ गते युवासंघ नेपाल ताप्लेजुङ जिल्ला अधिवेशनमा पनि भाँडभैलो भएर दुई समूहबीच कुटाकुट भएको थियो ।
केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको थियो ।
प्रतिक्रिया