खोटेहाङ गाउँपालिकाद्वारा अन्तरजातीय विवाहलाई प्रोत्साहन, ४० जोडीलाई गर्‍यो नगदसहित सम्मान

बुधबार, २४ बैशाख २०८२, १६ : ००

काठमाडौं- खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भएपनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । 

दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । 

“हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ”, उनले भने,“हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।”

गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नम्बर १ लिकुवापोखरीका चार, वडा २ वाप्लुखाका एक, वडा ३ सावाकटहरेका चार, वडा ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा ६ इन्द्रणीपोखरीका छ, वडा ७ खोटाङबजारका एक, वडा ८ सिम्पानीका ११ र वडा ९ लिच्कीराम्चेका नौ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिए । वडा नम्बर ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने उनले बताए । 

अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएको गाउँपालिकाका अध्यक्ष राईले बताए । उनका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।

गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए । 

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । सम्मान कार्यक्रमको अवसरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले वडास्तरीय जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो । 

सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेका विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

बुधबार, २४ बैशाख २०८२, १६ : ००

प्रतिक्रिया