काठमाडौं- भारत र पाकिस्तानबीचको तनाव चरम उत्कर्षमा पुगेको छ । बुधबार भारतले पाकिस्तानमाथि हवाई हमला गरेपछि दुई देशबीच युद्धको शंखघोष भएको छ । जम्मु–काश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकारी हमलाको १५ दिनपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो ।
भारतले सिन्दु अप्रेसनको नाम दिएर पाकिस्तानमाथि जवाफी कारवाही गरेको छ । भारत–पाकिस्तानबीच युद्धको अवस्था सिर्जना भएपछि शक्ति राष्ट्रहरुले संयमता अपनाउन दुबै देशलाई अपिल गरेका छन् । प्रमाणु हतियारले सम्पन्न राष्ट्रहरुबीच युद्धको स्थीति सिर्जना हुँदा विश्व नै त्रसित बनेको छ । भारत र पाकिस्तान युद्धले विश्वका शक्ति राष्ट्रबीच ध्रुवीकरण बढेको छ ।
युद्धको बादल मडारिएपछि एसिया क्षेत्र झनै प्रभावित हुने देखिन्छ । भारत–पाकिस्तानबीच युद्ध हुँदा भू–राजनीतिक हिसावले नेपालमा कस्तो प्रभाव पर्छ भन्ने चर्चा सुरु भएको छ । भारत– पाकिस्तान दुबै नेपालका असल छिमेकी राष्ट्र हुन् । त्यसमाथि पनि नेपालले असंलग्न पराष्ट्र नीति अबलम्बन गरेको छ ।
दुई छिमिकी युद्धमा होमिँदा नेपालले कस्तो कुटनीति अलम्बन गर्ला भन्ने चासो बढेको छ । अहिलेको अवस्था हेर्दा दुई देशबीच युद्ध भइहाले नेपाल त्यसको चपेटामा नराम्रोसँग पर्ने देखिन्छ । दक्षिण एसियाका दुई आणविक शक्ति भारत र पाकिस्तानबीच सैन्य कारबाही चलिरहेका बेला सार्क अध्यक्ष समेत रहेको नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकी ठेगानमाथि गरेको भनेर थालेको सैन्य कारबाही र त्यसको प्रतिवादमा पाकिस्तानले थालेको हमलाबारे सार्क अध्यक्ष रहेको नेपाल बोलेको छैन । चीन, अमेरिकालगायत शक्ति राष्ट्रले तत्कालै आफ्नो प्रतिक्रिया दिइसकेका बेला नेपालको धारणा के हो ? एक नेपाली नागरिक सुदिप न्यौपाने समेतको हत्या भएको पहलगाम आतंकवादी हमलापछि भारतले गरेको यो ठूलो सैन्य कारबाही मानिएको छ ।
नेपालले सो आतंकी हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध भारतको साथमा रहेको प्रतिक्रिया दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीबीच सो घटनालगत्तै टेलिफोन संवाद समेत भएको थियो ।
भूराजनीतिक कारणले पनि यो मुद्दामा नेपाल अछुतो नरहने कतिपय जानकारहरुको भनाइ छ । भारतको विभिन्न सुरक्षा संयन्त्रमा नेपालीहरु छन । युद्ध मैदानमा जाँदा नेपाली युवाहरु ठूलो संख्यामा मारिन सक्ने सम्भावना छ ।
भारत-पाकिस्तान युद्ध, विश्वभरी नै तरंग
भारत र पाकिस्तानबीच युद्ध सुरु भएसँगै सिंगो विश्व नै तंरगित भएको छ । भारत र पाकिस्तानको युद्धको अवस्थालाई विश्वका संचार माध्यमयले निकै प्राथमिकताका साथ छापेका छन् । पाकिस्तानले भारतीय आक्रमणको जबाफ दिने भनिसकेको छ । उसले भारतीय पक्षले हानेको ५ वटा फाइटर जेट खसालेको दाबी पनि गरेको छ ।
फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुइटा रुसमा बनेका लडाकु जहाज खसालेको पाकिस्तानले दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । विमान खसालेको पाकिस्तानी दाबीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यदि यो पुष्टि भयो भने, यो भारतीय सेनाको लागि दशकौँपछिको सबैभन्दा ठूलो क्षति हुनेछ ।
राफेल लडाकु विमान भारतीय सेनाको आधुनिकीकरण गर्ने योजना अन्तर्गत भारतले किनेको हो । भारतीय वायुसेनासँग ३६ वटा राफेल लडाकु विमान छ । भातरले आतंकवादीहरूको आधार इलाका भनेर मिसाइल हानेपछि पाकिस्तानी सेनाले कश्मिरमा गरेको बमबारीमा परी तीन भारतीयको मृत्यु भएको छ ।
पाकिस्तानमाथिको आक्रमणबारे भारतीय पक्षले आधिकारिक रूपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह लगायतले सामाजिक सञ्जालमा लेख्दै आतंकवादविरूद्ध अपरेशन सिन्दुर चलाइएको बताएका छन ।
पाकिस्तानमा हवाइ आक्रमणपछि अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन्। धेरै एशियाली एयरलाइन्सहरूले युरोप जाने र फर्कने उडानहरू रद्द गरेको रोयटर्सले जनाएको छ ।
विशेषगरी ताइवान, दक्षिण कोरिया, थाइल्याण्ड, भियतनामका विभिन्न उडान र भारतीय एयलराइन्सहरू एयर इन्डिया, इन्डिगो, स्पाइसजेट लगायतका विमानहरूले उडान रद्द गरेका छन् । सिंगापुर एयरलाइन्स, ब्रिटिश एयरवेज, फिनएयर, एयरोफ्लोट जस्ता एयरलाइन्सहरूले पनि रूट परिवर्तन गरेका छन् ।
भारतले गरेको आक्रमणबारे संयुक्त राष्ट्रसंघ, अमेरिका र चीनले प्रतिक्रिया जनाइसकेका छन् । संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ भने चीनले आक्रमणलाई खेदजनक भनेको छ । चीनले घटनालाई नजिकबाट नियालीरहेको र दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण बन्द हुने आशा व्यक्त गरेका छन् । उनका विदेशमन्त्री मार्को रूबिओले भने घटनालाई नजिकबाट नियालीरहेको बताएका छन् ।
प्रतिक्रिया