काठमाडौं- गृह मन्त्रालयको केन्द्रीय सुरक्षा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको छ ।
बुधबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनाबलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो ।
बैठकमा भारत पाकिस्तान तनाबपछि नेपालमा पर्न सक्ने प्रभावबारे पनि विश्लेषण गरिएको एक सहभागीले जानकारी दिए । त्यस्तै बैठकमा छिमेकी राष्ट्र भारत र पाकिस्तानमा रहेको नेपालीहरूको सुरक्षा अवस्थाबारे पनि छलफल भएको थियो । उनीहरूको अवस्थाबारे कुटनीतिक माध्यमबाट बुझ्ने निर्णय पनि बैठकमा भएको छ ।
बैठकमा गृहमन्त्री लेखक, नेपाली सेनाका रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी सहभागीलगायत सहभागी थिए ।
प्रतिक्रिया