एनपी साउदलाई प्रश्न- पाकिस्तानी सेना आएको देख्नेले भारतीय र अमेरिकी सेना आएको किन नदेखेको ?

विहीबार, २५ बैशाख २०८२, ०९ : ४४

काठमाडौं - नेपाली कांग्रेसका सांसद एनपी साउदले बुधबार संसद बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुरुप नेपाल आएको पाकिस्तानी सेनाको विषय उठाएर सरकारको ध्यानाकर्षण गराए । उनको अभिव्यक्तिमा पाकिस्तानी सेनाको आगमनप्रति आपत्ति र भारत लक्षित सहानुभूति प्रकट भएको थियो ।

नेपालमा औपचारिक कार्यक्रम र कतिपय अवस्थामा अघोषित रुपमा समेत अन्य शक्ति राष्ट्रका सेना आएको चर्चा बारम्बार सुनिन्छ । तर, त्यसबारेमा सदैब अनविज्ञता प्रकट गर्दै आएका पूर्वपरराष्ट्र मन्त्री समेत रहेका साउदले पाकिस्तानी सेना आएको विषयमा भने संसदमै असन्तुष्टि व्यक्त गरेका थिए ।

यस बारेमा आजको अर्थले कांग्रेस सांसद साउदलाई प्रश्न गर्दा उनी जवाफ दिनबाट तर्किए । उनले सबै कुरा त्यही संसदको अभिव्यक्तिमा प्रष्ट्याएको बताउँदै कुनै जवाफ दिएनन् ।

उनले भने, ‘मैले संसदमै बोलेको छु, त्यसमै हेर्नुन ! ’ 

मुलुकको जटिल भूराजनीतिक परिस्थितिको हेक्का नराखी दुई देशीय द्वन्द्वको यस संवेदनशील घडीमा पूर्वपरराष्ट्रमन्त्री भईसकेको व्यक्तिले पक्षधरता देखाएको आरोप साउदमाथि लागेको छ ।  कुनै अमुक राष्ट्रप्रति पक्षधरता जनाउनु असंलग्न परराष्ट्र नीति विपरीत हुने भन्दै उनको आलोचना भइरहेको छ ।

विहीबार, २५ बैशाख २०८२, ०९ : ४४

प्रतिक्रिया