अन्योलमा एमसीसी परियोजना, अमेरिकाले अझै गरेन पत्राचार

विहीबार, २५ बैशाख २०८२, ११ : २८

काठमाडौं- एमसीसीअन्तर्गत नेपालसहित चार देशमा सञ्चालनरत परियोजनाले निरन्तरता पाउने भनिए पनि यसबारे अहिलेसम्म सरकारले आधिकारिक जानकारी प्राप्त गर्न सकेको छैन । 

अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) को सिफारिसअनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकाले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । तर आफूहरूलाई अहिलेसम्म यस्तो कुनै जानकारी नेपालका सरकारका अधिकारीहरूले बताएका छन् । 

अमेरिकी सरकारले एमसीसीअन्तर्गत विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको थियो । तर नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोस्टमा भने यो परियोजना नरोकिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको थियो । 

एमसीसी अनुदान बन्द गर्ने निर्णय गरेसँगै डजले सबै देशलाई परियोजनाको अनुदान भुक्तानी बन्द गर्ने निर्णयसहित पत्र पठाइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । तर नेपालमा अहिलेसम्म यस्तो पत्र आएको छैन । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले अहिलेसम्म यस्तो पत्र प्राप्त नभएको बताए । 

विहीबार, २५ बैशाख २०८२, ११ : २८

प्रतिक्रिया