फिक्कल गाउँपालिद्वारा विद्यार्थीका लागि दैनिक एक रुपैयाँ बचत योजना सुरु

विहीबार, २५ बैशाख २०८२, ११ : ५२

काठमाडौं- ‘एक विद्यार्थी, एक खाता’ अभियानमार्फत सुन्धुलीको फिक्कल गाउँपालिकाले भित्रको सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि बैंक खाता खोल्ने निर्णय गरेको छ। कक्षा १ देखि १२ सम्मका करिब पाँच हजार विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको यो योजना नेपालमै पहिलोपटक स्थानीय तहबाट सञ्चालनमा ल्याइएको अभिनव प्रयास मानिएको छ।

बुधबार फिक्कल गाउँपालिका र प्राइम कमर्शियल बैंकबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार पालिकाले प्रत्येक विद्यार्थीको नाममा बैंक खाता खोल्नेछ र तिनका खातामा दैनिक १ रुपैयाँका दरले त्रैमासिक रूपमा रकम जम्मा गरिदिनेछ। यसैगरी, बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक खातामा एकपटकका लागि १०० रुपैयाँ जम्मा गर्नेछ।

पालिकाले ल्याएको यस योजनाको मुख्य उद्देश्य भनेको विद्यार्थीहरूमा बचत संस्कार विकास गर्नु, विद्यालय छोड्ने दर घटाउनु र माध्यमिक तह पार गरी उच्च शिक्षामा पहुँच सहज बनाउनु रहेको छ।

फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारका अनुसार यो कार्यक्रमले बालबालिकालाई भविष्यप्रति सचेत बनाउनुका साथै उनीहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्नेछ। “शिक्षा मात्र हैन, अब हामी वित्तीय अनुशासन पनि सिकाउँदैछौँ,” अध्यक्ष सुनुवारले भनिन्।

यस योजनाअनुसार अभिभावकले पनि आफ्ना छोराछोरीका खातामा दैनिक एक रुपैयाँ जम्मा गर्न सक्नेछन्। चाहेमा थप रकम पनि अभिभावक आफैंले जम्मा गर्न पाउने व्यवस्था गरिएको छ। बैंकले बाल बचत खातामा लाग्ने अधिकतम ब्याज दर प्रदान गर्ने सहमति पनि सम्झौतामा उल्लेख गरिएको छ।

प्राइम कमर्शियल बैंक फिक्कल शाखाका प्रबन्धक जनकण्ठ श्रेष्ठले बैंकले यस योजनालाई सामाजिक उत्तरदायित्वको एउटा नमूना अभ्यासको रूपमा लिएको बताए। उनका अनुसार बैंकको तर्फबाट मात्रै पनि एकपटकका लागि करिब पाँच लाख रुपैयाँ बराबरको सहयोग हुने छ।

पालिका स्रोतका अनुसार दैनिक एक रुपैयाँको दरले पाँच हजार विद्यार्थीका लागि बचत गर्न वार्षिक रूपमा करिब १८ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यस वर्षको भर्ना अभियान चलिरहेको हुँदा विद्यार्थी संख्या अझै बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ।

योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न फिक्कल गाउँपालिकाले नौ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ। उक्त समितिमा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, महिला तथा बालबालिका शाखाका प्रमुख, बैंक प्रतिनिधि तथा विद्यालय प्रतिनिधिहरू रहनेछन्।

खातामा जम्मा भएको रकम विद्यार्थी बालिक (१८ वर्षपछि) भएपछि मात्र झिक्न पाइनेछ। पालिकाका अनुसार, यसले विद्यार्थीलाई दीर्घकालीन बचतप्रति अभ्यस्त बनाउनेछ र भविष्यमा उच्च शिक्षा तथा जीवनका अन्य आवश्यक खर्चहरू जुटाउन टेवा पुग्नेछ।

विहीबार, २५ बैशाख २०८२, ११ : ५२

प्रतिक्रिया