काठमाडौं- भारत–पाकिस्तान तनाव उत्कर्षमा पुगेको छ । पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही ‘बुनयान-उल-मरसूस’ सुरु गरेपछि यी दुई देशबीच युद्धमा होमिएका छन् ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले गरेको घोषणाअनुसार भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा‘बुनयान-उल-मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको जनाएको छ ।
अलजजिराले सेनासम्बन्धी स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानले भारतको उधमपुर सहरस्थित एक वायुसेना बेस र पठानकोटस्थित एक एयरफिल्डलाई निशाना बनाएको उल्लेख गरेको छ । भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको पाकिस्तानी सुरक्षा स्रोतहरूले दाबी गरेको छ ।
यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरेपनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको बताएका छन् । उनले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको छ ।
शुक्रबार बिहीबार भारतले ‘अपरेशन सिन्दूर’सुरु गरेपछि यी दुई देशबीच मिसाइल हानाहान सुरु भएको हो । गएराति पनि रातभर दुवै देशले मिसाइल आक्रमण गरेका थिए भने सीमा क्षेत्रमा गोली हानाहान भएको थियो । तर उक्त आक्रमणबाट मानवीय क्षतिको विवरण भने दुवै देशले खुलाएका छैनन् ।
प्रतिक्रिया