युक्रेनलाई शान्ति वार्ताका लागि पुटिनको प्रस्ताव

आइतबार, २८ बैशाख २०८२, १० : ०६

काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार आइतबार क्रेमलिनबाट राष्ट्रपति पुटिनले रूस–युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धका कारणहरुको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । उनले किभलाई पूर्वसर्तबिना प्रत्यक्ष वार्ताको सुरू गर्न प्रस्ताव गर्ने बताउँदै भनेका छन्, ‘किभका अधिकारीहरूलाई बिहीबार इस्तानबुलमा वार्ताका लागि प्रस्ताव गछौँ ।’

उनले त्यसको चाँजोपाँजो मिलाउनका लागि टर्किका राष्ट्रपति तयिप एर्दोगानलाई भनेको समाचारमा उल्लेख छ । एर्दोगान रूस–युक्रेन युद्धविरामको पहलका लागि तयार भएको जबाफ एर्दोगानले दिएको पुटिनले बताएका छन् ।

उनले भने, ‘हाम्रो प्रस्ताव उनीहरूले भनेझै टेबलमा छ । अब निर्णय युक्रेनी अधिकारीहरूको हातमा छ ।’ पुटिनको उक्त प्रस्तावबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले जनाएको छ । साथै, उनले रूस शान्तिको पक्षमा छ भन्ने कुरा विभिन्न अवसरमा घोषणा गरिएका अस्थायी युद्धविरामहरूले पुष्टि गर्ने पनि बताएका छन् ।

ऊर्जा संरचनामा आक्रमण नगर्ने प्रतिबद्धता, इस्टरका अवसरमा गरिएका युद्धविराम र हालै दोस्रो विश्वयुद्धमा विजयी भएको ८० वर्ष पुगेको अवसरमा गरिएका ७२ घन्टाको युद्धविराम रूसले गरेको उनको भनाइ छ ।

यसअघि अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए । तर, ती वार्ता सफल हुन सकेन । रूसले युक्रेनसँग हाल कायम रहेका नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको बताउँदै आएका छन् ।

आइतबार, २८ बैशाख २०८२, १० : ०६

प्रतिक्रिया