ओखलढुंगाको संयुक्त आधारभूतद्वारा शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु

मंगलबार, ३० बैशाख २०८२, १२ : ५५

काठमाडौं- ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ स्थित संयुक्त आधारभूत विद्यालय घुन्सामा शेर्पा भाषामा पठनपाठन सुरु गरिएको छ । सम्भोट लिपिमा पठनपाठन हुने शेर्पा भाषामा बौद्ध शिक्षा पढाइने विद्यालयले जनाएको छ ।

स्थानीय पाठ्यक्रमका रुपमा विकास गरी सम्भोट लिपिमा शेर्पा तथा भोट भाषाबाट बौद्ध शिक्षा पठनपाठन सुरु गरिएको हो । गत मंगलबार २५६९औं बुद्धजयन्तीका अवसरमा विद्यालयमा औपचारिक कार्यक्रम गरी पठनपाठन सुरु गरिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले शेर्पा भाषाको सम्भोट लिपिमा तयार पारेको किताब विद्यार्थीलाई वितरण गरिएको प्रधानाध्यापक चुडामणि भट्टराईले बताए।

बालकक्षाका विद्यार्थीलाई छुट्टै र सम्भोट लिपिको छुट्टै किताब कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। यस वर्ष कक्षा ५ सम्मका सबै विद्यार्थीलाई एउटै किताब अध्यापन गराइने र आगामी वर्षदेखि क्रमशः कक्षाअनुसार फरकफरक किताब अध्यापन गराउने योजना रहेको विद्यालयका शिक्षक दोर्ची शेर्पाले बताए।

किताबमा बुद्धको नैतिक शिक्षा, भाषा, आयुर्वेद, ज्योतिषशास्त्र, काव्य, समग्र मुक्ति र मोक्ष आदि विषयहरु समेटिएका छन्। पञ्चशील, ध्वजापतका, वेद र बुद्धसँग सम्बन्धित विषयमा पोख्त जनशक्ति उत्पादन गर्ने उद्देश्यले सम्भोट लिपिमा कक्षा सञ्चालन गर्न लागिएको नेपाल बौद्ध महासंघ काठमाडौंका सल्लाहकार आचार्य नुर्बु शेर्पाले जानकारी दिए।

‘यो भाषामा ज्ञान भएका मान्छे कम छन्, अबको १० देखि १५ वर्षमा उत्पादन हुने शिक्षित जनशक्तिले विश्वका जुनसुकै विश्वविद्यालयहरुमा सहज रूपमा काम पाउने छन्’, उनले भने।

यसअघि नै जिल्लाको खिजीदेम्बा गाउँपालिकामा शेर्पा भाषामा पठनपाठन सञ्चालन भइसकेको छ। सिद्धिचरण नगरपालिकामा शेर्पा भाषामा पठनपाठन सुरु गर्ने संयुक्त आधारभूत विद्यालय पहिलो विद्यालय हो।

यस विद्यालयमा बालकक्षादेखि ५ सम्म अध्ययनरत ४८ विद्यार्थी शतप्रतिशत शेर्पा समुदायका छन्। नगरक्षेत्रका हरेक जातजातिका भाषा संस्कृतिलाई सहयोग गर्दै आएको सिद्धिचरण नगरप्रमुख तेजेन्द्र खनालले बताए।

मंगलबार, ३० बैशाख २०८२, १२ : ५५

प्रतिक्रिया