रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा

शुक्रबार, ०२ जेठ २०८२, ११ : २७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

श्रीमती सारिका कार्कीले काठमाडौं जिल्ला अदालतलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

मिश्रसँग आज इजलासमा बयान पनि लिइँदै छ । प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइने छ ।

उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

गत चैत्र १५ गते तीनकुनेमा राजावादी आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले मिश्रसहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो ।

शुक्रबार, ०२ जेठ २०८२, ११ : २७

प्रतिक्रिया