अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई प्रोस्टेट क्यान्सर

सोमबार, ०५ जेठ २०८२, १० : ३६

काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । यो क्यान्सर उनको शरीरका हड्डीसम्म फैलिएको चिकित्सकीय परीक्षणले पुष्टि गरेको छ ।

बाइडेनको कार्यालयले विज्ञप्ति जारी गरेर उनलाई प्रोस्टेट क्यान्सर भएको जानकारी दिएको हो । उनमा शुक्रबार गरिएको परीक्षणमा कयान्सर देखिएको हो । ८२ वर्षीय बाइडेनले गत हप्ता पिसाबसम्बन्धी लक्षणहरूका लागि चिकित्सकको परामर्श लिएका थिए ।

उनमा देखिएको रोगलाई ‘हाई ग्रेड’ क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ क्यान्सर कोषिकाहरू छिटो फैलिन सक्छन् भन्ने हो । बाइेडन र उनको परिवारले क्यान्सरको उपचारका विकल्पहरूमा समीक्षा गरिरहेका छन् ।

पूर्वराष्ट्रपतिको कार्यालयले क्यान्सर हर्मोन–सेन्सिटिभ अर्थात् नियन्त्रणमा लिन सकिने अवस्थामा रहेको बताएको छ । बाइडेनलाई क्यान्सर भएको खबर सार्वजनिक भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै बाइडेन चाँडै निको हून् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा उनले लेखेका छन्, ‘मेलानिया र म जो बाइडेनको हालैको मेडिकल डाइग्नोसिसबारे सुनेर दुखी भएका छौँ । हामी उनी चाँडै निको हून् भन्ने कामना गर्दछौँ ।’ 

सोमबार, ०५ जेठ २०८२, १० : ३६

प्रतिक्रिया