जिल्ला प्रशासन कार्यालय रौतहटमा टोकन सिस्टम लागू

मंगलबार, ०६ जेठ २०८२, १३ : १०

काठमाडौं- जिल्ला प्रशासन कार्यालय रौतहटमा (टाइमकार्ड) टोकन सिस्टम लागू गरिएको छ। सिडिओ विनोद कुमार खडकाको पहलमा सेवाग्राहीको सुविधाका लागि टाइमकार्ड टोकन सिस्टम लागू गरिएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरूको दैनिक जसो अत्यधिक भिडभाड सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सोमबार देखि टोकन प्रणाली टाइमकार्ड लागू गरिएको हो । 

विगतमा सेवाग्राहीहरू काम गराउन झ्यालमा धक्कामुकी गर्ने, अरूको पालो मिचेर काम गराउन खोज्ने परम्पराको अन्त्य गरेर आआफ्नो पालोअनुसार सहज एवं छिटो छरितो ढंगले सेवाप्रवाह गर्ने उद्देश्यले टोकन प्रणाली सिस्टमको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

टोकन सिस्टम लागू भएपछि आआफ्नो पालो कुन दिन र कुन समय पर्ने हो निश्चित हुँदा तोकिएको झ्यालमा गएर काम गराउँदा समय र पैसा दुवैको बचत हुने सेवाग्राहीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा हाल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने देखी विभिन्न काम विशेषले गरी दैनिक २५० देखी ३०० जना सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।

मंगलबार, ०६ जेठ २०८२, १३ : १०

प्रतिक्रिया