रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा लामो फोन वार्ता गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अब ‘तत्काल’ रुस र युक्रेनले युद्धविराम तथा युद्ध अन्त्यका लागि संवाद थाल्ने बताएका छन्।
फोन संवाद एकदम राम्रो भएको बताएका ट्रम्पले दुई पक्षबीच शान्तिका शर्तहरूबारे सहमति हुनु पर्ने बताए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनमा कुरा गरेका ट्रम्पले आशावादी टिप्पणी गरेका छन् तर यथार्थमा कुनै युद्धविराम वा शान्ति सम्झौता अझै निकट देखिँदैन।
पुटिन र जेलेन्स्कीले के भने ?
पुटिनले ‘सम्भावित भावी शान्ति सम्झौताबारे समझदारी’ का निम्ति युक्रेनसँग मिलेर काम गर्न आफू तयार भएको बताएका छन्।
जेलेन्स्कीले चाहिँ ‘यो निर्णायक घडी’ भएको बताए अनि अमेरिकालाई यी संवादहरूबाट नटाढिन आग्रह गरे।
पुटिनसँगको वार्ताबारे ट्रम्पले सकारात्मक टिप्पणी गरे पनि रुस–युक्रेन शान्ति वार्ता कहिले सुरु हुन्छ भनेर कुनै सङ्केत दिइएको छैन।
जेलेन्स्कीले शान्तिका लागि निर्णायक घडी आएको बताएका छन्
साथै अमेरिका तथा युरोपेली देशहरूले रुसी राष्ट्रपतिलाई ३० दिने निशर्त युद्धविराम गर्न गरेको आग्रहको पनि पुटिनले जबाफ दिएका छैनन्।
ट्रम्पसँगको वार्तापछि जेलेन्स्कीले ‘पूर्ण तथा निशर्त युद्धविराम’ का लागि युक्रेनको इच्छा पुन ः प्रकट गरे। यदि मस्को तयार नभए ‘अझै कडा आर्थिक प्रतिबन्ध’ हरू लगाइनु पर्ने पनि उनले बताए।
ट्रम्पसँग कुरा हुनुभन्दा अगाडि बोल्दै गर्दा जेलेनस्कीले युक्रेनबारेका कुराकानीमा उनको देशलाई सामेल गराउनै पर्ने र त्यो ‘सैद्धान्तिक मान्यता’ को विषय भएको बताए।
उनले रुससँग हुने संवादको प्रक्रियामा ‘अमेरिकी तथा युरोपेली दुवै पक्षका उचित तहका प्रतिनिधिको सहभागिता हुनै पर्ने’ बताएका छन्।
‘अमेरिका यी संवादबाट नटाढिने विषय हामी सबैका लागि अनि शान्तिका लागि जरुरी छ किनभने त्यसो हुन गयो भने केवल पुटिनलाई फाइदा पुग्छ,’ उनले भने।
ट्रम्पको दिमागमा छ ‘लक्ष्मण रेखा’
फोन वार्तहरूपश्चात् ह्वाइट हाउसमा भएको एक छुट्टै समारोहका बेला बोल्दै ट्रम्पले रुस र युक्रेनको संवाद मध्यस्थता गर्ने कार्यबाट अमेरिका पछि नहट्ने भने।
तर आफ्नो दिमागमा लक्ष्मण रेखा भएको र यदि त्यो नाघियो भने चाहिँ उनले दुवै पक्षलाई आग्रह गर्ने कार्य रोक्ने बताए।
हालैका साताहरूमा मस्को र किएभबीच शान्तिका विषयमा प्रगति नभएकोमा निराश ट्रम्पले अब अमेरिका यी सहजीकरणका कार्यबाट फिर्ता हुने चेतावनी बारम्बार दिएका छन्।
रुसबारे उनको पछिल्लो विश्वासका सम्बन्धमा प्रश्न गर्दा पुटिनलाई युद्ध धेरै भएको र त्यसलाई अन्त्य गर्न उनले चाहेको आफूलाई लागेको ट्रम्पले बताए।

ट्रम्पले फोन गर्दा सोची सहरमा एक सङ्गीत विद्यालयको भ्रमणमा रहेका पुटिनले उक्त फोन संवाद ‘खुलस्त, जानकारीमूलक एवं रचनात्मक’ भएको टिप्पणी गरे। उनले युद्धविराम सम्भावनाको पनि कुरा गरे
‘हामी अमेरिकी राष्ट्रपतिसँग केमा सहमत भएका छौँ भने रुसले सम्भावित भावी शान्ति सम्झौतासम्बन्धी समझदारीका निम्ति प्रस्ताव गर्ने छ र त्यसमा युक्रेनसँग मिलेर काम गर्ने छ’ उनले भने।
उनका अनुसार यसले ‘कतिपय अडानहरू’ परिभाषित गर्ने छ जसमा ‘सहमतिका सिद्धान्तहरू अनि सम्भावित शान्ति सम्झौता सम्पन्न गर्ने समयसारिणी’साथै आवश्यक सहमति भएको खण्डमा निश्चित अवधिका निम्ति सम्भावित युद्धविरामुका विषय पनि रहने छन्।
हफ्सा खलिल
बीबीसी न्यूज
प्रतिक्रिया