काठमाडौं- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका सहसचिव तीर्थराज भट्टराईलाई बुधबार अख्तियारले नियन्त्रणमा लिएपछि त्यहाँका कर्मचारीहरुको लुटधन्दा सतहमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि आफ्नै संयोजकत्वमा सुशासन आयोग नै गठन गरेपनि उनी मातहतका गृहमन्त्रालय अन्तर्गत अध्यागमन कार्यालयमा भएका बेथितिले उनलाई नै गिज्याइ रहेको छ ।
त्रिभुवन बिमानस्थल कार्यालय आसपासमा सरुवा भएर जाने कर्मचारीको अवस्था हेर्ने हो भने सदाचार भन्दा पनि भ्रष्टाचारले सीमा नाघेको देखिन्छ । गृहमन्त्रालय अन्तर्गत विमानस्थलको अध्यागमन कार्यालय जाने अधिकृतहरू नै त्यहाँ दरबन्दी भन्दा धेरै छन् । प्रधानमन्त्रीको कोशी प्रदेशका र गृहमन्त्रीको प्रदेश सुदूरपश्चिमका कर्मचारीहरूको भीड त्यहाँ भेट्न सकिन्छ ।
प्राप्त जानकारीअनुसार त्यहाँ अधिकृत हुनु पर्ने भन्दा दोब्बर धेरै छन् । अन्य पदका कर्मचारी पनि दरबन्दी भन्दा धेरै रहेको पाइएको छ ।
त्यसो त सरकारवादी युनियनको हानाथापले कर्मचारी त्यहाँ पठाउँदा आवश्यक भन्दा धेरै कर्मचारीको हाजिरी हुन्छ । हाजिरी गरेर सेटिङ मिलाउनकै लागि त्यहाँ जाने गरेका कर्मचारी धेरै छन् । अधिकांश कर्मचारीहरू दाहोरिएर पनि जाने गरेका छन् ।
यो पनि पढ्नुस्
त्रिभुवन विमानस्थल कमाउ क्षेत्र र घुस खाने क्षेत्र नै हो भन्ने मानक कर्मचारीवृत्तमा छ । अन्यत्र रहेका कर्मचारीहरु पनि गृह मन्त्रालय सरुवा भएर कमाउनकै लागि विमानस्थल जान लाइन लागेका हुन्छन् ।
विमानस्थल स्रोतका अनुसार त्यहाँ पुगेपछि एकजना अधिकृतले वर्षमा दुईदेखि तीन करोड रुपैयाँ अतिरिक्त आम्दानी गर्न सक्छ । त्यसको लागि सरुवा भएर जाने बेलामा नै मनग्ये पैसा बुझाउनु पर्ने हुन्छ । अझ उपसचिवस्तरको कर्मचारीले एक वर्ष विमानस्थल बस्न पायो भने दोब्बर कमाउने गरेका छन् ।
विमानस्थल महानिर्देशकको कमाई त झनै अचाक्ली हुने गरेको छ । त्यसोत लगानी नगरी त्यहाँ जानै मुश्किल छ । यस पटक त्यहाँ जाने शाखा अधिकृतले पाँच लाखको दरमा प्रिपेड बुझाएको र त्यहाँ पुगे पछि पनि किस्ता किस्तामा रकम बुझाउनुपर्ने प्रचलन रहेको स्रोतको दाबी छ ।
बिचौलियादेखि प्रधानमन्त्री कार्यालय,गृहमन्त्री,गृहसचिवदेखि युनियनका नेतासम्मलाई सेटिङ् मिलाएपछि विमानस्थलको अध्यागमन कार्यालयमा जान पाइने नियम नै छ । अभिलेख अनुसार हालका उपसचिव खेमराज उपाध्याय दोस्रोपटक त्यहाँ पुग्ने कर्मचारी हुन् । नायब सुब्बा लक्ष्मी भुसाल पनि त्यहाँ मस्ती मार्ने नाम हो । उनको तीन पटक विमानस्थलमा सरुवा भएको अभिलेख देखिन्छ ।
अतिरिक्त कमाई हुने हुँदा त्यहाँ जान लोकतन्त्रको नाम लिएर जय नेपालको नारा लाउनेदेखि लालसलाम भन्ने कर्मचारी पनि हानाथाप गर्छन् । काँग्रेसको नाम भजाएर त्यहाँ पुगेकी कर्मचारी मध्येकी एक शाखा अधिकृत दुर्गा थापाले पनि विमानस्थलमा नोट छापिरहेको स्रोतले जनाएको छ ।
यी महिला कर्मचारी विमानस्थलमा दोस्रोपटक सरुवा भएर गएको अभिलेखमा देखिन्छ । थापाको सम्पत्ति कति छ भन्ने अहिलेसम्म लेखाजोखा नै गर्न नसकिएको उनी निकट एक कर्मचारीले बताए ।
गणेशविक्रम शाह शाखा अधिकृतको रुपमा विमानस्थल अध्यागमन कार्यालयमा छन् । अतिरिक्त कमाईमा कारवाहीमा पनि परेका शाह अहिले सेटिङमै विमानस्थल पुगेका हुन् । त्यस्तै भोज ऐडी शाखा अधिकृत ३ पटक र रवीन्द्र ठगुन्ना, शाखा अधिकृत ३ पटक विमानस्थल अध्यागमन कार्यालय पुगिसकेका छन् ।
शाखा अधिकृत भोज ऐडी तीनपटकसम्म त्यहाँ बसेका हुन् । उनी तीनपटकसम्म त्यसठाउमा जानुले पनि शका उत्पन्न हुन्छ । त्यस्तै, अर्का शाखा अधिकृत रवीन्द्र ठगुन्ना पनि तीनपटकसम्म त्यहाँ पुगेको पाइएको छ ।
पछिल्लो पटक रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा गएका फणिन्द्र पौडेल पनि अवधि नै नपुगी मन्त्रालय आएर विमानस्थलमै पुगेका छन् । गृहसचिव गोकर्णमणि दुवाडीको सेटिङमै दरबन्दी भन्दा धेरै कर्मचारीको बनेर उनी विमानस्थल पुगेका हुन् ।
यसबारेमा प्रतिक्रिया लिन अध्यागमन विभागका महानिर्देशक गोबिन्दप्रसाद रिजालसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन ।
प्रतिक्रिया