ईगल थिंक ट्यांकद्वारा पूर्वसैनिकको समन्वयमा नेतृत्व विकास तालिम संचालन

विहीबार, ०८ जेठ २०८२, १० : १४

काठमाडौं- काठमाडौंको बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बुधबारदेखि "कर्तव्यपथ" नामक सात दिने विशेष तालिम सुरु भएको छ।

तालिम ईगल थिंक ट्याङ्कको सहकार्यमा, साउथ वेस्टर्न स्कूल र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।  तालिमले युवाहरूमा मातृभूमिप्रतिको जिम्मेवारी र राष्ट्रियताबोध जागृत गर्दै, विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न दीर्घकालीन प्रयास स्वरूप थालिएको बताइएको छ।

तालिममा बीबीए र बीएचएम अध्ययनरत ४० जना विद्यार्थी सहभागी छन्। उनीहरूलाई नैतिकवान नेतृत्व, राष्ट्रिय चेतना, जिम्मेवार नागरिकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गराउने लक्ष्य राखिएको छ। अनुभवी स्रोत व्यक्तिहरूबाट प्रत्यक्ष ज्ञान तालिममा सहभागीहरूले पूर्व सैनिक, कूटनीतिज्ञ, प्राध्यापक र संयुक्त राष्ट्र संघीय शान्ति मिसनका विज्ञहरूबाट प्रत्यक्ष प्रशिक्षण र अनुभव प्राप्त गर्नेछन्। 

तालिमको संयोजन नेपाली सेनाबाट अवकाश प्राप्त उच्च पदस्थ सैनिकहरूको संस्था ईगल थिंक ट्याङ्कले गरेको हो। तालिममा आवश्यक प्रशिक्षकको व्यवस्थापन पनि संस्थाले नै गरेको हो।  ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक ब्रिगेडियर जनरल (अवकाशप्राप्त) रामचन्द्र खत्रीले "कर्तव्यपथ" लाई राष्ट्रिय अभियानको रूपमा परिभाषित गर्दै, अनुशासित, नैतिक र जानकार नेतृत्व तयार गर्नु आवश्यक रहेको बताए।

उद्घाटनमा युनिभर्सिटी अफ थ्री जेनेरेसनका अध्यक्ष डा. राजेन्द्र केसी र साउथ वेस्टर्न कलेजका प्राचार्य इन्जिनियर दीपक धामीले तालिमले अनुशासन, समय व्यवस्थापन, टिमवर्क र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

तालिम विशेषतः सुरक्षा निकाय, कूटनीति, प्रशासन र अन्तर्राष्ट्रिय शान्ति मिसनमा भविष्यमा योगदान गर्न सक्ने युवा लक्षित छ। निःशुल्क तालिम र समर्पित स्रोत व्यक्तिहरू सहभागी विद्यार्थीहरूलाई निःशुल्क तालिम प्रदान गरिनेछ, र स्रोत व्यक्तिहरूले स्वेच्छाले ज्ञान र समय प्रदान गर्नेछन्। आर्थिक अभावले कुनै पनि इच्छुक विद्यार्थी पछि नपरोस् भन्ने उद्देश्य राखिएको छ।

तालिमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र दिइनेछ। साथै, "ईगल आइ अनलाइन क्विज कन्टेस्ट" मा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिनेछ। इच्छुक प्रायोजकलाई पनि सहभागी हुन आह्वान गरिएको छ।

आयोजकहरूले स्थानीय सरकार र शैक्षिक संस्थाहरूलाई यस्ता युवा सशक्तिकरण कार्यक्रमलाई आफ्ना नीतिमा समेट्न आह्वान गरेका छन्।

विहीबार, ०८ जेठ २०८२, १० : १४

प्रतिक्रिया