काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज बिहीबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ हुनेगरी पेसी तोकिएको हो । सोही इजलासमा मंगलबार मुद्दा हेर्दाहेर्दैमा रहेकामा बुधबार भने संवैधानिक इजालस भएकाले मुद्दाको सुनुवाइ भएको थिएन ।
वैशाख ७ मा निकिताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबार, रुपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलास , जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ, कारागार कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।
आज सुनुवाइको सुरुमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् । त्यसपछि पूर्वडीआईजी छविलाल जोशीका कानुन व्यवसायी तथा पीडित र सरकारी वकिलको बहस सुरु हुनेछ । सोही इजलासमा लगाब राखिएका रवि लामिछाने र छबिलाल जोशीले दायर गरेको मुद्दाको पनि पेसी तोकिएको हो ।
कारागारमा रहेका पूर्व डीआईजी जोशीका तर्फबाट कानून व्यवसायीले आज मात्रै बहस–पैरवी गर्नेछन् । बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले भ्याएसम्म आज नै आदेश सुनाउने सम्भावना छ । जसले रवि र छविलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ ।
प्रतिक्रिया