काठमाडौं- लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद एक महिना थपिएको छ ।
समितिमा परेका विभिन्न उजुरीमध्ये लेखा समितिको कार्यक्षेत्र रहेको भनेर सञ्जय गौतम नेतृत्वको कार्यदलले गरेको स्क्रिनिङ गरेर दिएका ४८ उजुरीउपर छानबिन गर्न गरेको कार्यदलको म्याद थप गरिएको हो । यसअघि लेखा समिति अन्तर्गत गठन भएको सात वटा कार्यदलको म्याद एक महिना थप भएको थियो । चैत ७ गते समितिले विभिन्न उपसमिति बनाएको थियो ।
त्यसमध्ये टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी हेर्न मनिष झा नेतृत्वमा कार्यदल गठन गरिएको छ । त्यस्तै, अर्थ मन्त्रालय, गैरकानुनी बीमा, मोबाइल बैङ्किङ र एमसीसी सम्बद्ध उजुरीका सम्बन्धमा छानबिन गर्न गोकुल बाँस्कोटा नेतृत्वमा कार्यदल बनाइएको थियो ।
त्यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालय सम्बद्ध उजुरीका लागि लेखनाथ दाहाल तथा विद्युत् प्राधिकरण तथा सहरी विकास मन्त्रालय सम्बद्ध उजुरीको छानबिनका लागि प्रेम आलेको नेतृत्वमा कार्यदल बनाइएको थियो ।
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्र सम्बन्धी उजुरी छानबिन गर्न सञ्जय गौतमको नेतृत्वमा कार्यदल बनाइएको छ । खेलकुद, नेपाल स्काउट र गैर कानुनी सरकारी जग्गासम्बन्धी उजुरी छानबिनका लागि देवप्रसाद तिमल्सिनाको नेतृत्व रहेको कार्यदल बनाइएको थियो ।
त्यस्तै, स्वास्थ्य, क्रसर र केन्द्रीय अनुसन्धान ब्युरोसम्बन्धी उजुरी छानबिनका लागि तारा लामाको नेतृत्व रहेको कार्यदल बनाइएको छ । सुरुमा १५ दिनका लागि भनेर तोकेको समयावधि यतिबेला २ महिना नाघिसकेको छ । तर, अहिलेसम्म कुनै कार्यदलले पनि प्रतिवेदन बुझाएका छैनन् ।
सभापति ऋषिकेश पोखरेलले कुनै कार्यदलले काम नगरेकोले कार्यदल विघटन गरेर पूर्ण समितिबाटै छलफल गरेर टुङ्गो लगाउनुपर्ने प्रस्ताव गरे पनि समितिका संयोजक समय थप गर्नुपर्ने पक्षमा देखिएपछि समय थप गरिएको हो ।
प्रतिक्रिया