काठमाडौं– टाटा ग्रुप अन्तर्गतको एयर इन्डियाको सहायक कम्पनी एयर इन्डिया एक्सप्रेस ले काठमाडौं र बैंगलोरबीच दैनिक नियमित उडान सञ्चालन गर्ने भएको छ।
कम्पनीले जेठ १८ बाट बैंगलोरबाट काठमाडौंका लागि आफ्नो सेवा सुरु गर्न लागेको हो। एयर इन्डिया एक्सप्रेसको उडान बिहान ८:०५ बजे बैंगलोरबाट प्रस्थान गरी काठमाडौंमा अवतरण गर्ने र बिहान ९:०५ बजे काठमाडौंबाट पुनः बैंगलोरका लागि उडान गर्ने तालिका छ।
विगतमा नेपाल एयरलाइन्सले यो रूटमा सेवा दिँदै आएको थियो, तर हाल सो उडान बन्द छ। बैंगलोर नेपाली विद्यार्थीहरूका लागि प्रमुख गन्तव्य भएकाले यो सेवा विद्यार्थी र अन्य यात्रुहरूका लागि निकै सुविधाजनक हुने अपेक्षा गरिएको छ।
यसका साथै, धार्मिक तथा पर्यटन प्रयोजनका लागि भारतबाट नेपाल आउने यात्रुहरूलाई पनि प्रत्यक्ष उडानले सहजता प्रदान गर्नेछ। नयाँ उडानका साथ भारत–नेपालबीचको पर्यटन, व्यापार र कनेक्टिभिटी थप मजबुत हुने विश्वास गरिएको छ। निकट भविष्यमा एयर इन्डिया एक्सप्रेसले मुम्बई–काठमाडौं उडान पनि सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।
नेपालमा एयर इन्डिया एक्सप्रेसको प्रतिनिधित्व ट्राभल राइट प्रालिले गर्दै आएको छ।
प्रतिक्रिया