काठमाडौं— हाल सञ्चालनमा रहेका चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल २ अर्ब २७ करोड ३ लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी लगानी गर्ने कम्पनी नेपाल माइक्रो बीमा कम्पनी रहेको छ, जसले ६३ करोड ७५ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ। दोस्रो स्थानमा रहेको स्टार माइक्रोले ५७ करोड १० लाख, त्यसपछि ट्रस्ट माइक्रोले ५३ करोड ६८ लाख र प्रोटेक्टिभ माइक्रोले ५२ करोड ४९ लाख रुपैयाँ लगानी गरेका छन्।
मुद्दती निक्षेपमा सबैभन्दा धेरै लगानी
चार वटै बीमा कम्पनीको लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा देखिएको छ। यो क्षेत्रमा मात्र १ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ लगानी भएको छ। यस्तै, ‘ख’ वर्गका बैंकमा १५ करोड ३६ लाख र ‘ग’ वर्गका वित्तीय संस्थाहरूमा ५ करोड १० लाख रुपैयाँ लगानी गरिएको छ।
शेयर बजार र अन्य क्षेत्रमा लगानी
बीमकहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा पनि उल्लेख्य लगानी गरेका छन्। नेपाल माइक्रोले ९ करोड ६४ लाख, प्रोटेक्टिभ माइक्रोले ७९ लाख र ट्रस्ट माइक्रोले १८ लाख रुपैयाँ लगानी गरेका छन्। स्टार माइक्रोले भने साधारण शेयरमा लगानी गरेको छैन।
त्यस्तै, ऋणपत्र, डिबेन्चर, बन्डजस्ता लगानी साधनमा ट्रस्ट माइक्रोले ९ लाख २१ हजार रुपैयाँ लगानी गरेको देखिन्छ। रक लगानी कोष तथा म्युचुअल फन्डतर्फ नेपाल माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रोले गरी कुल ९० लाख रुपैयाँ लगानी गरेका छन्, जसमा नेपाल र ट्रष्टले समान ४०/४० लाख तथा स्टारले १० लाख लगानी गरेका छन्।
प्रतिक्रिया