काठमाडौं— जेठ महिनाको पहिलो साता राष्ट्रिय पोषण सप्ताह अवसरमा धनुषाको सबैला नगरपालिकामा पोषणबारे जनचेतना जगाउने उद्देश्यले विविध कार्यक्रमहरू सम्पन्न भएका छन्।
प्लान इन्टरनेशनल नेपालको साझेदारी, सबैला नगरपालिकाको समन्वय र जानकी महिला जागरण समाजको सहजिकरणमा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत कार्यक्रमहरु सञ्चालन भएका हुन् । सबैला नगरपालिकाको वडा नं. ९, १०, ११ र १३ का ३२ वटा अभिभावक समूहलाई लक्षित गरी गरिएको कार्यक्रममा पोषिलो जाउलोको महत्व र बनाउने तरिकाहरु प्रस्तुत गरिएको हो।
सबैला नगरपालिकाका स्वास्थ्य संयोजक गुलेश्वर गडेरिले यो साता अभियानको रूपमा अभिभावकहरूलाई जाउलो कसरी स्वादिलो र पोषिलो बनाउने भन्ने व्यावहारिक प्रशिक्षण दिइएको बताए ।
प्रशिक्षकहरूले नानीबाबुहरूलाई पोषणयुक्त जाउलो बनाउनका लागि चामल, बेसार, नुन मात्र प्रयोग हुने परम्परागत तरिकाको सट्टा, अन्न, गेडागुडी, हरियो सागपात, फलफूल, अण्डा, घिउजस्ता पोषणयुक्त सामग्री मिसाएर बनाउन प्रेरित गरेका छन् ।
कार्यक्रम संयोजक खगेन्द्र दहालका अनुसार, गत महिना १६ समूहमा गरिएको लिटो बनाउने कार्यक्रम प्रभावकारी भएपछि यसपटक सहभागी समूहको संख्यामा वृद्धि गरिएको हो। उनले भने, “अभिभावकहरुले कहिलेकँही मात्र त्यो पनि बेसार नुन र चामलको मात्र प्रयोग गरेर जाउलो बनाउने चलन रहेकोमा अबदेखि पोषिलो र स्वादिलो हुने गरि जाउलो बनाएर नानी बाबुहरुलाई खुवाउने प्रतिवद्घता गरेकोले खुसी लागेको छ।”
पोषण सप्ताहका अवसरमा स्थानीय प्रारम्भिक बाल विकास समितिका पदाधिकारीहरू, जानकी महिला जागरण समाजका बोर्ड सदस्यहरू, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरू, फील्ड सुपरभाइजर, स्वास्थ्यकर्मीहरू तथा महिला स्वयंसेविकाहरूले कार्यक्रमको सफल कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
राष्ट्रिय पोषण सप्ताह नेपालमा हरेक वर्ष मनाइने कार्यक्रम हो जसको उद्देश्य विशेषगरी बालबालिका र किशोरकिशोरीहरूको पोषण सुधारमा जागरुकता जगाउनु र प्रवद्र्घन गर्नु हो । बच्चालाई ६ देखि ११ महिना सम्म थप खानाको रुपमा लिटो, जाउलो खुवाउदा विषेश फाइदा हुुन्छ भने अन्य उमेर समुहकोलागि पनि जाउलो पोषिलो खानाको रुपमा प्रयोग गरिन्छ । मुख्यतया खाना बनाउदा हरेक पटक अन्न, गेडागुडी, हरियो सागपात फलफुल र पशुजन्य (अन्डा,घिउ) सामानको उचित मात्रामा मिसावट आवश्यक हुन्छ ।
प्रतिक्रिया