ईयुमाथिको ५० प्रतिशत ट्यारिफ जुलाई ९ सम्म स्थगित गर्ने ट्रम्पको घोषणा

सोमबार, १२ जेठ २०८२, १३ : ०४

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघसँग कर सम्बन्धी वार्ताको समयसीमा बढाउन सहमति जनाएका छन्।

उनले ईयुका सामानहरुमाथि ५० प्रतिशत भन्सार शुल्कको कार्यान्वयनलाई जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने बताएका हुन् । 

यो सहमति आइतबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको फोनवार्तापछि आएको हो । 

“राष्ट्रपति ट्रम्पसँग राम्रो कुराकानी भयो। इयु र अमेरिकाको संसारमा सबैभन्दा महत्त्वपूर्ण र घनिष्ठ व्यापारिक सम्बन्ध छ। युरोप वार्तालाई छिटो र निर्णायक रूपमा अगाडि बढाउन तयार छ। राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्म चाहिन्छ,” उर्सुला भोन डेर लेयनले एक्समा लेखेकी छिन्।

वासिङ्टन फर्कने तयारीका क्रममा न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भने, “मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरुले त्यो गर्नुपर्छ । भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गरे ।”

शुक्रबारको सामाजिक सञ्जालको पोस्टमा ट्रम्पले २७ सदस्य राष्ट्रको यो समूह व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ रहेको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भनी गुनासो गर्दै इयुका सामानहरुमाथि जुन १ देखि लागू हुनेगरी ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए ।

“म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो”, ट्रम्पले आइतवार साँझ पत्रकारहरुसँग कुरा गरेपछि ट्रुथ सोसलमा भनेका छन् । 

सोमबार, १२ जेठ २०८२, १३ : ०४

प्रतिक्रिया