काठमाडौं- गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि विपक्षी दलहरुले छानबिनको माग गर्दे सदन अवरुद्ध गर्ने संकेत गरेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्रीमन्त्रीको राजीनामाको माग गरेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाब दिएको थियो ।
यस्तै अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि गृहमन्त्रीको राजीनामा मागेको छ । सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले आफूमाथि प्रश्न उठेपछि गृहमन्त्रीले त्यसको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेको हो । राजीनामा नआएसम्म संसद बैठक अवरुद्ध पार्ने चेतावनी समेत रास्वपाले दिएको छ ।
दुई प्रतिपक्षी दलले अवरोध गर्ने भएपछि आजको प्रतिनिधिसभाको बैठक अवरुद्ध हुने सम्भावना छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । आजै गृहमन्त्री लेखकले पनि भिजिट भिसा प्रकरणबारे आफूमाथि लागेको आरोप बारे प्रष्टीकरण दिन समय लिएका छन् । तर उनको सम्बोधन अघि नै प्रतिपक्षी दलका सांसदहरुले संसद अवरोध गर्ने संकेत देखिएको छ ।
साथै, आजको बैठक बैठक सहज ढंगले सञ्चालन भएमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने पूर्वनिर्धारित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया