काठमाडौं- गाजामा चलिरहेको युद्धका कारण ५ प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ।
एफएओको अनुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा बढी कृषि क्षेत्र क्षतिग्रस्त भएको छ भने ७८ प्रतिशत क्षेत्रमा पहुँच नै छैन। हाल केवल ४.६ प्रतिशत खेतीयोग्य क्षेत्र प्रयोग गर्न सकिने अवस्थामा छ।
यो अवस्थाले गाजाका बासिन्दामा खाद्य संकट र भोकमरीको जोखिमलाई थप गम्भीर बनाएको छ।
इजरायलले हमासविरुद्ध गाजामा सैन्य कारबाही तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय समुदायले यो कारबाहीको आलोचना गरिरहेको छ। झण्डै तीन महिनाको नाकाबन्दीपछि केही राहत सामग्री प्रवेश गर्न थाले पनि खाद्य र औषधीको कमी कायम छ।
एफएओका अनुसार खेतीका लागि जम्मा ६८८ हेक्टर ९लगभग १ हजार ७०० एकड० भूमि मात्र बाँकी छ। दक्षिण गाजाको राफा र केही उत्तरी क्षेत्रमा अवस्था निकै गम्भीर छ, जहाँ अधिकांश कृषि भूमि प्रयोग गर्न नसकिने भएको छ।
एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले भने, ‘खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू नष्ट भएपछि गाजामा स्थानीय उत्पादन पूर्ण रूपमा ठप्प भएको छ।’ युद्धअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र लगभग ५ लाख ६० हजार मानिस खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।
हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ मा युद्धविराम टुटेपछि हालसम्म कम्तीमा ३ हजार ७८५ जनाको मृत्यु भएको छ। कुल युद्ध पीडितको संख्या ५३ हजार ९३९ पुगेको छ, जसमा अधिकांश सर्वसाधारण छन्।
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २१८ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए। उक्त आक्रमणमा २५१ जनालाई अपहरण गरिएको थियो, जसमध्ये हाल ५७ जना गाजामा छन्। इजरायली सेनाका अनुसार तीमध्ये ३४ जनाको मृत्यु भइसकेको छ।
प्रतिक्रिया