काठमाडौं– त्रिभुवन विमानस्थलबाट अवैधरुपमा भिजिट भिसामा नेपाली पठाउने कार्य भर्खरै बाहिरिए पनि विगत लामो समयदेखि नै यही माध्यमबाट नेपालीहरु बाहिर जाने गरेका थिए ।
नेपालबाट श्रमस्वीकृति बिना मेनपावरका दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा विदेशिने कार्य केही वर्ष अघिदेखि नै निरन्तर चल्दै आइरहेको थियो ।खाडी, मध्यपूर्व, युरोपेली मुलुकदेखि रसियन सेनामा भर्ना हुन जाने अधिकांश नेपाली पनि त्रिुभवन विमानस्थलबाट भिजिट भिसामा दुबई हुँदै रुस पुग्ने गरेको पाइएको छ ।
रसियन सेनामा भर्ना भएर युद्धरत रुसको पक्षमा लडेर फर्किएका अधिकांश नेपाली त्रिभुवन विमानस्थलबाटै आफूहरु भिजिट भिसामा दुबई हुँदै रसिया पुगेको बताउँछन् ।
रुस युक्रेन युद्धमा रसियन सेनामा भर्ना भएर करिब ७२ जना नेपाली मारिएको विवरण सार्वजनिक भइसकेको छ भने अझै ठूलो संख्यामा त्यहाँको सेनामा नेपाली कार्यरत रहेका छन् ।
यस्तै सयौंको संख्यामा घाइते समेत भएका छन् । आधिकारिक तथ्याँकमा मृतकको संख्या कम उल्लेख गरिए पनि अझै बढी हुन सक्ने आशंका गरिएको छ ।
रसियन सेनामा भर्ना भएर फर्किएका रुकुम बाँफीकोटका विक्रम मल्लले आफू यहाँबाट भिजिट भिसामा दुबई हुँदै रसिया पुगेको बताए । मल्लका अनुसार, अहिले बाहिरिएको प्रकरण जसरी दलालले एयरपोर्टमा सेटिङ मिलाउनु छ भन्दै उनीहरुसँग दुई लाखको दरले पैसा असुलेका थिए ।
‘सुरुमै दलालले एयरपोटमा रकम बुझाउनुपर्छ भनेर छुट्टै रकम लिएको थियो’, उनले आजको अर्थसँग भने, ‘त्यसैले यहाँबाट जाँदा एयरपोर्टमा कुनै समस्या भएन । ’
कतिपय विदेशमा रहेका नेपाली त्यतैबाट रसिया पुगेको बाहेक अरु सबै नेपालबाटै गएका हुन् । यहाँबाट दलालले सामूहिक रुपमै पठाउने गरेको विक्रमले बताए ।
उनले दलालको नाम भने खुलाउन चाहेनन् । करिब ६ लाख रकम दलाललाई बुझाएर रसिया पुगेको उनले बताए । त्यहाँको चिसोले बिरामी भएर चाँडो घर फर्कनुपरेको विक्रमको भनाइ छ ।
यस्तै दाङका रामचन्द्र खड्का पनि नेपालबाट भिजिट भिसामै रसिया पुगी त्यहाँको सेनामा भर्ना भएर युक्रेनविरुद्धको युद्धमा घाइते भएर फर्किएका छन् । उनी पनि विक्रम जसरी नेपालबाट गएका हुन् । आजको अर्थको सम्पर्कमा आएका उनले पनि उस्तै पीडा सुनाए ।
‘जाने प्रक्रिया चल्दै गर्दा नै दलालले एयरपोटमा बुझाउनका लागि हामीसँग खर्च लाग्ने रकम बढी भनेको थियो’, उनले भने, ‘सोही अनुसार एयरपोर्टमा कुनै रोकतोक नभएर सहजै बाहिरिएका थियौं । ’
खड्काका अनुसार, भिजिट भिसामा दुबई हुँदै रसिया जान करिब ६ लाख रकम दलाललाई बुझाएका थिए । सोही रकमबाट दलालले सेटिङ मिलाएका कर्मचारीलाई दिएर बाँकी लागत खर्चसहित अन्य रकम आफैंले राखेको खड्काले बताए । भिजिट भिसा प्रकरण एयरपोर्टमा विगतदेखि नै चल्दै आएको र अहिले अत्यधिक हुन थालेपछि मात्रै बाहिरिएको उनको भनाइ छ ।
आजको अर्थको सम्पर्कमा आएका दाङकै अर्का एक युवा पनि यहाँबाट भिजिट भिसामा रसिया पुगेपनि त्यहाँको अध्यागमनले फर्काएको बताउँछन् । त्रिभुवन विमानस्थलको भिजिट भिसा प्रकरण बाहिरिएपछि नाम उल्लेख नगर्ने शर्तमा आश्चर्यचकित हुँदै ती युवाले भने, ‘यसरी गृहमन्त्री स्तरबाटै सेटिङ मिलाइने रहेछ र पो हामीलाई जाँदाखेरी बिना रोकटोक पठाइएको रहेछ ।’
यहाँबाट जान सफल भएपनि रसिया पुगेपछि त्यहाँको अध्यागमनले फर्काएको उनले बताए । अरु नेपालबाट रसियन सेनामा भर्ना हुन जाने अधिकांश यही सेटिङबाट गएको उनको भनाइ छ । उनले यसरी आफ्नै नागरिकलाई पैसाको लोभमा युद्धग्रस्त भूमिमा पठाएर सरकारले अपराध गरेको भन्दै आक्रोश व्यक्त गरे ।
पर्यटन भिसामा विदेश जाने नेपालीले त्यहाँ गएर श्रम गर्न पाउँदैनन् । उनीहरु निश्चित समयका लागि घुमघामको प्रयोजनले गएका हुन् । उनीहरुको आर्थिक हैसियत र साथमा पर्याप्त रकमसहित त्यहाँ बस्ने होटेल बुकिङका या आफन्तीसँगको नाता खुल्ने कागजातका आधारमा यकिन गरी पठाउनुपर्ने हो ।
तर, दलालसँगको मिलेमतोमा अध्यागमनका कर्मचारीले बिना चेकजाँच पठाउँदै आएका थिए । यस बापत विमानस्थलका कर्मचारीले मोटो रकम बुझ्ने गरेको र त्यो गृहमन्त्रालयसम्मे पुग्ने गरेको तथ्य भर्खरै बाहिरिएको छ ।
रुस युक्रेन युद्धमा भने रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सेनामा भर्ना हुन आउने अन्य देशका नागरिकलाई पनि सेनामा प्रवेश गराएका थिए । पुटिनले आकर्षक सेवा सुविधाको घोषणा गर्दै रसियन सेनामा भर्ना हुने बाह्य देशका नागरिकलाई रुसी नागरिकता समेत दिने घोषणा गरेका थिए । त्यही प्रलोभनमा नेपालीहरु त्यहाँ पुगेर रसियन सेनामा भर्ना भएका हुन् । अहिले भने नेपालीलाई रसियन सेनामा भर्ना लिन बञ्देज गरिएको बताइन्छ ।
प्रतिक्रिया