दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौं : मन्त्री यादव

मंगलबार, १३ जेठ २०८२, १७ : ०३

काठमाडौं— खानेपानी मन्त्री प्रदीप यादवले देशभर दिगो र समावेशी खानेपानीका योजना अब झन् मजबुत रूपमा अगाडि बढाइने बताएका छन्।

हेटौंडा उपमहानगरपालिका–१६ मा आयोजित एक कार्यक्रममा बृहत् शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै उनले भने, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध पानी दिन निरन्तर लागिपरेको छ। अब दिगो र समावेशी खानेपानी योजना झनै सशक्त रूपमा अगाडि लैजाने छौं।”

स्वच्छ र पर्याप्त पानी पाउने अधिकार नागरिकको मौलिक अधिकार हो भन्ने मान्यता अनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्दै आएको उनको भनाइ छ। “सबैका लागि स्वच्छ पानी” भन्ने दृष्टिकोणसहित सरकारले दिगो विकास लक्ष्य अनुसार हरेक घरमा गुणस्तरीय र पर्याप्त पानी पुर्‍याउने प्रतिबद्धता जनाएको उनले बताए।

उनले उद्घाटन गरेको बृहत् शक्ति खानेपानी आयोजना शक्ति खोलाको पम्पिङ प्रणालीमार्फत पानी उच्च भागमा भण्डारण गरी वितरण गरिने छ।

मन्त्री यादवले भने, “अब यहाँका नागरिकले शक्ति खोलाबाट सुरक्षित, स्वच्छ र शुद्ध खानेपानी प्रयोग गर्न पाउनेछन्।”

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले आयोजना हेटौंडा र आसपासका हजारौं घरधुरीमा दीर्घकालीन रूपमा स्वच्छ पानी पुर्‍याउने महत्त्वाकाङ्क्षी योजना भएको बताए।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले संघ, प्रदेश र स्थानीय तीनै तहको साझा प्रयासबिना खानेपानी तथा सरसफाइको दिगो लक्ष्य प्राप्त गर्न नसकिने बताए।

“हामी सबै स्थानीय तहसँग सहकार्य गरेर वास प्लान बनाउँदैछौं,” श्रेष्ठले भने, “त्यहीअनुसार संरचना निर्माण पनि हुँदैछ।”

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख पूर्णप्रसाद उपाध्यायका अनुसार आयोजनाबाट ८,७१९ जना लाभान्वित हुनेछन्। कुल लागत रु ६ करोड ६७ लाख ६७ हजार ०६३.९२ रहेको आयोजनाले स्थानीयमा भरपर्दो सेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा राप्रपाका नेता एवं सांसद दीपकबहादुर सिंह, बागमती प्रदेशका मन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौडाका मेयर मिनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, वडा अध्यक्ष रामकृष्ण कोइरालालगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति थियो।

मंगलबार, १३ जेठ २०८२, १७ : ०३

प्रतिक्रिया