काठमाडौं- राजावादीहरुले शनिबार आन्दोलन गर्ने पूर्वनिर्धारित स्थल काठमाडौंको दरबारमार्ग क्षेत्रमा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि राजावादी समूहले रणनीति बदलेका छन् । भोलिको प्रदर्शनमा निषेधित क्षेत्र नतोड्ने राजावादी समूहले जनाएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले निषेधित क्षेत्र नतोड्ने बताएका छन् । उनले सरकार आफैं मुठभेड निम्त्याउन खोजेको बताउँदै आफूहरु शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको बताए ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन राजतन्त्र पुनस्र्थापनाको लागि आन्दोलनको घोषणा गरेका राजावादी समूहले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन् ।आन्दोलन उत्कर्षमा जान लागेपछि सरकार आक्रामक हुन थालेको राजावादीहरुकोे आन्तरिक निष्कर्ष रहेको छ । उनीहरुले बेलैमा नवीन समझदारी आउन सरकारलाई आग्रह गरिरहेका छन् ।
राजावादीहरुले गणतन्त्र दिवसको दिन गरेको जनप्रदर्शन तथा आन्दोलनलाई ‘ऐतिहासिक’ बनेको ठहर गरेका छन् । प्रधानमन्त्री केपी ओलीको ‘काठमाडौं कब्जा गर्ने’ परिकल्पनाले हावा खाएकोमा राजावादीहरु थप उत्साहित देखिएका छन् ।
प्रतिक्रिया