गभर्नर नियुक्ति विरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

मंगलबार, २० जेठ २०८२, ०९ : १९

काठमाडौं-  नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । 

गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट अधिवक्तात्रयले दायर गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ संशोधनविरुद्धको रिटसँगै  राखिएको छ ।

गत वैशाख २ गते सो मापदण्ड संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

गभर्नर पौडेलविरुद्धको रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा  नियुक्ति गरिएको दाबी गरिएको छ । पौडेलको नियुक्ति बदरको मागसहित तत्काल नोटमा हस्ताक्षर रोक लगाउन अन्तरिम आदेशको माग अधिवक्तात्रयले गरेका छन् ।

मंगलबार, २० जेठ २०८२, ०९ : १९

प्रतिक्रिया