काठमाडौं– सोमबार प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ भन्दै आफ्नो तस्बिर अंकित एक पोष्टर शेयर गरे । एमालेका पदाधिकारीदेखि नेता कार्यकर्ताले ओलीकै शैलीमै ‘म झोले हो’ लेखेको पोष्टरमा आफ्नो तस्बिर राखेर सामाजिक सञ्जालमा शेयर गर्ने होडबाजी नै चल्यो, त्यो क्रम अहिलेसम्म पनि जारी छ ।
नेपाली भाषाका जानकारहरुले ओलीको अभियानमा उल्लेखित ‘म झोले हो’ भन्ने वाक्य नै व्याकरणिक रुपमा अशुद्ध भएको टिप्पणी पनि गरेका छन् । उक्त वाक्य अशुद्ध भएको बताउँदै प्रथम पुरुषसँग क्रिया पनि प्रथम पुरुष नै हुने हुँदा सो वाक्यको अन्त्यमा ‘हो’ नभएर ‘हुँ’ हुनुपर्ने जिकिर नेपाली भाषाका जानकारहरुको छ ।नेपाल सरकारका पूर्व सचिव एवं सामाजिक अभियान्ता भीम उपाध्यायले एमालेभित्र नेपालीमा शुद्ध लेख्न जान्ने एक जना पनि रहेनछन् भन्दै व्यंग्य गरेका छन् ।
उनले लेखेका छन्, ‘अशुद्ध– ‘म झोले हो।’ शुद्ध– ‘म झोले हुँ।’ प्रथम पुरूषसंग क्रिया पनि प्रथम पुरूष नै हुन्छ । तृ्तीय पुरूषमा लेख्दा– ‘उ/त्यो झोले हो ।’
यसबाहेक एमाले अध्यक्ष ओलीले सुरु गरेको उक्त ‘झोले’ अभियानको पक्ष र विपक्षमा अहिले सामाजिक सञ्जाल प्रयोगकर्ता विभाजित भएका छन् । ओलीको सार्वजनिक रुपमै आफूलाई ‘झोले’ भएको उद्घोष अन्य नेता कार्यकर्ताले सहर्स स्वीकार गरेपछि नेपाली राजनीतिमा दलीय कार्यकर्ताको हैसियतका विषयमा समेत बहस सिर्जना गरेको छ । ओलीकै शैलीमा अन्य नेता कार्यकर्ताहरुले पनि त्यसलाई स्वीकार गरी सहभागिता जनाए पछि आलोचनात्मक चेत नभएको भन्दै उक्त अभियानको विरोध समेत हुन थालेको हो ।
‘झोले’ शब्दले आफैंमा एउटा झोला बोकेर हिँड्ने व्यक्ति भन्ने जनाउँछ । यहाँ प्रतिकात्मक रुपमा झोला भनिए पनि त्यसलाई राजनीतिकर्मीले अंगीकार गरेको वैचारिक दृष्टिकोणका रुपमा चित्रण गर्न खोजिएको हो । अर्थात् त्यसमा समाज र मुलुकका लागि महत्वपूर्ण कोसेली के छ ? त्यो चाहिँ महत्वपूर्ण पाटो हो । त्यो झोलारुपी विचार किन र कसका लागि बोकेको हो भन्ने पनि एमालेको यस अभियानमा दर्शाउन खोजिएको छ । झोले अभियानको पोस्टरमा ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कैयौं गुणा उत्तम चरित्र हो ।’ उल्लेख गरिएको छ ।
यसको उद्देश्य राजनाीतिक कार्यकर्तालाई झोलेको संज्ञा दिएर उपेक्षा गरिएपछि त्यसविरुद्ध यो अभियान केन्द्रित रहेको प्रष्ट हुन्छ । राजावादी आन्दोलनलाई काउन्टर दिन पनि ओलीको यो अभियान रहेको त्यसमा उल्लेखित वाक्यांशले प्रष्ट पार्दछ । किनभने, त्यसमा सामन्ती परिवारको दास भनेर शाहवंशीय पूर्वराजपरिवारलाई चित्रित गरिएको छ । अहिले त्यही राजसंस्था पुनस्र्थापनाको मुद्दा प्रखररुपमा सतहमा आएको छ ।
मुलुक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको करिब दुई दशक पुग्नै लाग्दा पहिलो पटक राजसंस्था पक्षधरहरु संगठित भएर सडकमा उत्रिएका छन् । वर्तमान व्यवस्थाका कतिपय कमजोरीले पनि जनताहरु राजसंस्थाबारे पुनर्विचार गर्ने ठाउँमा पुगेको पछिल्ला परिघटनाले संकेत गरेको छ । यसर्थ, यही परिवेशलाई मध्यनजर गरेरै ओलीले राजावादी बनेर कसैको ‘दास’ बन्नुभन्दा ‘झोले’ बन्नु नै बेस भन्दै सामाजिक सञ्जालमा यो अभियान चलाएको सहजै बुझ्न सकिन्छ ।
एमालेको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमलाई अध्यक्ष ओलीले सुरु गरेको झोले अभियान अनिवार्यरुपमा कार्यान्वयन गर्न सबै कार्यकर्तालाई बाध्यकारी निर्देशन दिइएको हो ? भनेर आजको अर्थले प्रश्न गरेको थियो । गौतमले यो प्रचारात्मक अभियान भएकाले अनिवार्य पालना गर्न निर्देशित नगरिएको जानकारी दिए । उनले स्वेच्छापूर्वक नेता कार्यकर्ताहरुले अभियानका रुपमा अगाडि बढाएको बताए ।
‘अनिवार्य गरिएको होइन, कार्यकर्ता स्वेच्छाले सामाजिक सञ्जालमा अघि बढाएका हुन् ।’, उनले भने, ‘सामाजिक सञ्जालमा राजनीतिक कार्यकर्तालाई झोलेका नाममा उपेक्षा गर्दै खडा गरिएको गलत भाष्य चिर्न नेता कार्यकर्ताहरुले स्वतस्फूर्तरुपमा यो अभियान व्यापक बनाइरहेका छन् ।’
‘झोले’का नाममा राजनीतिक कार्यकर्ताको उपहास गर्ने प्रवृत्तिका विरुद्ध यो अभियान लक्षित रहेको गौतमले बताए । सबै नेता कार्यकर्ताले स्वेच्छापूर्वक यस अभियानलाई साथ दिएको उनको जिकिर छ ।
एमालेमा घोषित रुपमै चलेको यस अभियानप्रति कतिपय नेताहरु असन्तुष्ट रहेको पनि बताइन्छ । केहीले त सार्वजनिक रुपमै आफू जबजको पक्षधर रहेको भन्दै ‘झोले’ नभएर एमालेको कार्यकर्ता भएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् । यसले पनि ओलीको ‘झोले’ अभियान पार्टीमै सर्वस्वीकार्य हुन नसकेको प्रष्ट्याउँछ ।
एमालेकै एक नेताले नाम उल्लेख नगर्ने शर्तमा ‘झोले’ अभियानलाई प्रचण्डपथसँग तुलना गरेका छन् । उनले विगतमा माओवादी पार्टीका नेता कार्यकर्ताले कुनै लेख लेख्नुपर्दा प्रचण्डको कोटेशन राख्न अनिवार्य गरिएको सम्झिए ।
ती नेताले आजको अर्थसँग भने, ‘यो त्यही प्रचण्ड पथ शैलीको नयाँ संस्करण हो । यसले कार्यकर्ताको आलोचनात्मक चेतमलाई निषेध गर्ने प्रयत्न गरिएको छ । विरोधीको आक्षेपलाई वैचारिक रुपले प्रतिवाद गर्नुपर्नेमा झोलेका रुपमा चित्रण गर्दा नेपाली समाजमा अर्कै अर्थ लाग्छ ।’
ती नेताका अनुसार यस अभियानमा सहभागिताका लागि पार्टीमा बाध्यात्मक अवस्था सिर्जना गरिएको छैन । तर, झोलेका रुपमा चित्रण गर्दा अन्धसमर्थक भन्ने अर्थ लाग्ने उनको गुनासो छ । त्यसैले पक्ष र विपक्षमा नेता कार्यकर्ताहरुले बहस गर्न थालेको र त्यो स्वाभाविक भएको उनले बताए ।
तत्कालीन युद्धरत माओवादीले २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नामबाटै नयाँ वैचारिक आयाम भन्दै प्रचण्डपथ अंगीकार गरेको थियो । त्यसलाई पार्टीमा कार्यान्वयन गर्दै हरेक नेता कार्यकर्ताहरुले आफ्नो लेखमा प्रचण्डको भनाइ अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने नियम लागू गरेको थियो । साथै राज्य विरुद्ध युद्ध छेडेर भूमिगत रहेका पार्टी अध्यक्ष प्रचण्डको तस्बिर समेत सार्वजनिक गरिएको थियो । शान्तिप्रक्रियामा प्रवेश गरेपछि भने माओवादीले प्रचण्डपथ परित्याग गरेको थियो ।
अहिले एमालेमा पनि ओलीको बोली नै पार्टी कार्यकर्ताका लागि वैचारिक अस्त्रकै रुपमा स्वीकार गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गरिएको आरोप लागेको छ । अन्यथा भीम रावल र विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनाको हालत हुने त्रास रहेको बताइन्छ । एमालेमा भीम रावल पार्टी सदस्यबाटै निष्कासित भएका छन् भने तिमिल्सिना र पाण्डे अध्यक्ष ओलीविरुद्ध बोल्दा ६ महिने निलम्बनमा परेका छन् ।
एमाले नेता गोकुल बाँस्कोटाले आफू एमाले कार्यकर्ता भएको बताउँदै झोले अभियानप्रति लाञ्छनिक रुपमा असहमति प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘ज्यामितीमा स्वयंशिद्ध तथ्य हुन्छन् , त्यसलाई प्रमाणित गर्न पर्दैन । जस्तो कि दुई बिन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ, त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री नै हुन्छ, राजनीतिमा पनि त्यही हो । अर्थात म एमाले कार्यकर्ता हुँ, त्यहाँ मेरो विश्वासकोमात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ ।’
बाँस्कोटाको उल्लेखित टिप्पणीबाट प्रष्ट हुन्छ कि उनी झोले अभियानप्रति पूर्णतया सन्तुष्ट छैनन् । तर, उनले आफ्नो असन्तुष्टिलाई ठाडै प्रकट नगरेर घुमाउरो तवरले भने अस्वीकार गरेका छन् ।
यस्तै ओलीले सुरु गरेको शैली जसरी नै कतिपय आलोचनात्मक चेत भएका एमाले नेताहरुले भने ‘ म एमाले हो, जबजप्रति, एमालेको नीति र नेतृत्वप्रति बफादार छु’ लेखेको पोष्टर फेसबुकमा शेयर गर्ने क्रम पनि निकै बढेको छ ।
प्रतिक्रिया