ग्राण्डी अस्पतालमा स्कोलियोसिस सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

विहीबार, २२ जेठ २०८२, १० : ४२

काठमाडौं- काठमाडौंको धापासीमा रहेको ग्राण्डी अस्पतालमा ढाडको बांगोपनासँग सम्बन्धित स्कोलियोसिसबारे जनचेतना मूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 

अस्पतालमा आयोजित सचेतना कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी आफन्तजन तथा अस्पतालका डाक्टर, नर्स कर्मचारी लगायतको उपस्थिति रहेको थियो । संसारभर अंग्रेजी वर्षको जून महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा विभिन्न कार्यक्रम गर्दै मनाइन्छ । 

अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले स्कोलियोसिसको समस्या जन्मदेखि नै हुने गरे पनि बढी मात्रामा १० देखि २० वर्ष उमेर समूहका बालबालिकामा हुने गरेको बताए । जन्मजात बाहेक नशा सम्बन्धी समस्याको कारण पनि उक्त समस्या देखिने गरेको डा विजुक्छेको भनाई छ । स्कोलियोसिसको समस्या छोराहरूको तुलनामा छोरीहरूमा बढी मात्रामा हुने गरेको पाइन्छ । एक जना छोरामा देखियो भने सात जना छोरीहरूमा यो समस्या देखिने सम्भावना रहेको डा विजुक्छेले जानकारी दिए । 

स्कोलियोसिसको समस्या घरका बाबुआमा र स्कुलका शिक्षक तथा साथीहरूले बढी मात्रामा पत्ता लगाउने गरेका छन् । लुगा लगाउँदा नमिल्नु, एउटा कुम माथि अर्को तल देखिनु, एकातिरको ढाडको भाग माथि उठ्नु लगायत यसका समस्या रहेको उनले बताए । डा विजुक्छेले मेरुदण्डको भाग बांगो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सो र मुटुको कामलाई असर पुर्‍याउने गरेको भन्दै समयमै उपचार गर्नु जरुरी रहेको बताए। 

नेपालमा सन् २००६ बाट स्कोलियोसिसको शल्यक्रिया सुरु गरिएको थियो । कार्यक्रममा स्कोलियोसिसका अप्रेसन गरेका बिरामी तथा आफन्तजनले स्कोलियोसिस समस्याका कारण भोग्नु परेका शारीरिक तथा मानसिक पीडा साथै उपचार पश्चात् आफ्नो जीवनमा आएको परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए । 

जुन महिनालाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा अन्तर्राष्ट्रिय रूपमा नै मनाउने गरिएको छ भने ग्राण्डी अस्पतालले पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विहीबार, २२ जेठ २०८२, १० : ४२

प्रतिक्रिया