काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट युवा संगठन वाईसिएल, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा आगामी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु नहुँदै विवाद उत्पन्न भएको छ ।
गत आइतबारदेखि सुरु भएको सम्मेलनले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न नसकेपछि निर्वाचन प्रक्रियामा जाने सहमति भएको थियो । सोही अनुसार बिहीबार मतदाता नामावली समेत सार्वजनिक गरिएको थियो ।
तर, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरले निर्वाचन प्रक्रिया सुरु नहुँदै धाँधली गरेको इतर पक्षले आरोप लगाएपछि विवाद सुरु भएको हो ।निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नु अगावै प्रचण्ड पक्षका नेताहरुले फर्जी प्रतिनिधि खडा गरी मतदाता बनाएको उपमहासचिव जनार्दन शर्मा पक्षीय नेताहरुले आरोप लगाएका छन् ।
अध्यक्षको आधिकारिक उम्मेदवारको टुंगो नलाग्दै प्रचण्ड पक्षका नेताहरुले फर्जी मतदाता र सरकारी कर्मचारीलाई समेत प्रतिनिधि बनाएको शर्मा पक्षका नेताहरु बताउँछन् ।
यसअघि विद्यार्थीको निर्वाचनमा जसरी देशभरबाट किर्ते मतदाता खडा गरेर आफू पक्षीय उम्मेदवार जिताउन प्रचण्ड पक्ष लागेको सम्मेलनमा सहभागी एक नेताले बताए ।
ती नेताका अनुसार प्रचण्ड पक्षले पार्टीको कर्मचारी संगठनका सरकारी कर्मचारीको नाम समेत मतदाता नामावलीमा समावेश गरिएको पाइएपछि विवाद उत्पन्न भएको हो ।
वाईसिएलको आगामी नेतृत्वका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐर लगायत चुनावी मैदानमा उत्रिने तयारीमा छन् । यी मध्ये कुँवर र ओलीले आफूलाई हेडक्वाटरको समर्थन रहेको दाबी गर्दै उम्मेदवारी दिन लागेका छन् भने ऐर र शाही उपमहासचिव शर्मा निकटका आकांक्षी हुन् ।
दुबै पक्षले आफ्ना आधिकारिक उम्मेदवार अझै टुंगो लगाइसकेका छैनन् । प्रचण्ड पक्ष भने यस अघि विद्यार्थीको निर्वाचनमा अधिकांश शर्मा पक्षीय उम्मेदवारले जित हासिल गरेपछि बिच्किएको बताइन्छ । शर्मा पक्षलाई काउन्टर दिन वाईसिएलमा जसरी भए पनि आफू पक्षीय उम्मेदवार जिताउने रणनीतिमा खुमलटार लागेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया