मन्त्रिपरिषद्को निर्णयमाथि पहिलो पटक चल्यो भ्रष्टाचारको मुद्दा, माधव नेपालको सांसद पद निलम्बन

विहीबार, २२ जेठ २०८२, १३ : ४०

काठमाडौं- संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियारको क्षेत्राधिकारका विषयमा विवाद भइरहँदा मुलुकमै पहिलो पटक पूर्वप्रधानमन्त्री र तत्कालीन मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचार मुद्दा परेको छ ।

संसदीय समितिमा सांसदहरुले मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले छानबिन गर्न पाउने/नपाउने विषयमा विवाद हुँदै आएको थियो । यही परिवेशमा मन्त्रिपरिषदबाटै नीतिगत निर्णय गराएर भ्रष्टाचार गरेको भन्दै पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आफ्नो प्रधानमन्त्रीत्वकालमा माधव नेपालले मन्त्रिपरिषदबाटै निर्णय गराएर पतञ्जलिलाई हदबन्दी छुटमा जग्गा दिइएको र सो जग्गा पछि व्यापारिक प्रयोजनले अन्यलाई बेचबिखन गरिएको पाइएको थियो ।

नेपालसहितले पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जनाएको छ । 

२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।

विशेषमा भ्रष्टाचार मुद्दा परेपछि उनको सांसद पद स्वतः निलम्बन भएको छ । अब मुद्दाको फैसला नआउञ्जेल उनी सांसदबाट निलम्बित भएका छन् ।

विहीबार, २२ जेठ २०८२, १३ : ४०

प्रतिक्रिया