पतञ्जली प्रकरण

माधव नेपाल भन्छन्– राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइयो

विहीबार, २२ जेठ २०८२, १५ : २०

काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप अस्वीकार गर्दै उक्त कदम प्रतिशोधपूर्ण भएको बताएका छन्।

बिहीबार गृह जिल्ला रौतहट क्षेत्र नं-१ मा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष समेत रहेका नेपालले आफूविरुद्ध सुरुदेखि नै षड्यन्त्र भएको र राजनीतिक जीवन समाप्त पार्ने नियतले मुद्दा चलाइएको आरोप लगाए।

आफूले ‘नबिराउनु, नडराउनु’ को मान्यतालाई आत्मसात् गरेको बताउँदै अध्यक्ष नेपालले कुनै पनि अनुचित काम नगरेको र त्यस्ता कार्यलाई प्रोत्साहन समेत नगरेको जिकिर गरे।

‘मैले कुनै पनि अनुचित काम गरेको छैन र मैले अनुचित कामलाई प्रोत्साहन दिन पनि चाहन्नँ,’ उनले भने, ‘न्यायभन्दा ठूलो कुरो केही हुँदैन, सत्यभन्दा ठूलो कुरो केही हुँदैन।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ मागदाबीसहित बिहीबार मुद्दा दायर गरेको छ ।

नेपालको प्रधानमन्त्रीत्वकालमा पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको अख्तियारले जनाएको छ । 

विहीबार, २२ जेठ २०८२, १५ : २०

प्रतिक्रिया