महोत्तरी गाउँपालिकालाई ‘उत्कृष्ट पालिका’ सम्मान

आइतबार, २५ जेठ २०८२, ११ : ३३

काठमाडौं- मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गतका महोत्तरी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान) ले पुरस्कारसहित सम्मान गरेको छ ।

तराई–मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई शिक्षा क्षेत्रमा नेतृत्व, पहल, योगदान र उल्लेखनीय प्रगति गरेकोमा प्रिन्सिपल एसोसिएशन अफ नेपाल (पान) ले यस वर्षको उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत र सम्मानित गरेको हो ।

पानले प्रत्येक वर्ष नेपालभरिबाट शिक्षा क्षेत्रमा योगदानबारे २५ वटा शैक्षिक मापदण्डका आधारमा मूल्यांकन गरी उत्कृष्ट पालिका पुरस्कारबाट पुरस्कृत गर्दछ ।

यस वर्षको मूल्यांकन समितिको अध्यक्ष प्रा.डा. विद्यानाथ कोइराला थिए । शुक्रबार पानद्वारा पोखरामा आयोजित आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलिप कुमार पाण्डेयलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो । महोत्तरी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई र किसानहरुलाई सुविधा हुने क्षेत्रमा राम्रो काम गरेको छ । 

पशु सेवा केन्द्रको निर्माणदेखि जनचेतना र जानकारीमूलक कार्यक्रमहरु अगाडि बढाएको छ । २०८२–८३ मा पर्सादेखि महोत्तरी–सनुखरासम्मको सडक, महोत्तरीदेखि परकौलीचोकसम्मको सडक र गोरीगम्मादेखि रातोपुलसम्म पक्की नाला सहितको सडकको निर्माण सांसद गोमा लाभको प्रयासले शहरी विकास मन्त्रालयको योजना अन्तर्गत बन्ने भएको छ । यी तीनवटै योजनामा ३–३ करोडको गरी ९ करोड बजेट राखिएको छ ।
 

आइतबार, २५ जेठ २०८२, ११ : ३३

प्रतिक्रिया