काठमाडौं- पोखरामा एक दिवसीय इन्जिनियरिङ बीमा सम्बन्धी सेमिनार सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) र नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) को पोखरा च्याप्टर र नेपाल इन्स्योरेन्स तथा जोखिम व्यवस्थापन संघ (निर्मा) को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी सदस्य सुरेश रेग्मीले गरेका थिए ।
कार्यक्रम चार सत्रमा सम्पन्न भएको थियो। पहिलो सत्रमा बीमा सम्बन्धी कानूनी व्यवस्थाको बारेमा चर्चा गरिएको थियो। दोस्रो सत्रमा निर्माका अध्यक्ष तथा पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. रविन्द्र घिमिरेले बीमाका समसामयिक विषयवस्तुहरू, चुनौतीहरू र आगामी सम्भावनाहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे। त्यस्तै, तेस्रो सत्रमा हिमालयन जनरल इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा हाल यूआईबी रिइन्स्योरेन्स ब्रोकर युकेका नेपाल प्रतिनिधि सुसिल बज्राचार्यले इन्जिनियरिङ बीमामा जोखिम मूल्यांकन, अन्डरराइटिङ प्रक्रिया लगायतका बारेमा प्रस्तुति दिए।
चौथो तथा अन्तिम सत्रमा सर्भेयर र बीमा विज्ञ बुद्धि राज अधिकारीले “रिस्क टु रिकभरी” विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशमा कार्यरत निर्जीवन बीमा कम्पनीका करीब ९० जना कर्मचारीहरूको सहभागिता रहेको थियो।
प्रतिक्रिया