काठमाडौं– गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै प्रतिपक्षी दलहरुको संसद अवरोध जारी छ । करिब दुई सातादेखि संसद बैठक बस्न नसक्दा आर्थिक वर्ष ८२/८३ को बजेटमाथि छलफल हुन सकेको छैन ।
भिजिट भिसाको आवरणमा भएको मानव तस्करी र ठगीमा तानिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका विपक्षी दल पछिल्लो समय लचक बनेर छानबिन समिति गठनको माग गरेका छन् । माओवादी केन्द्र, रास्वपा लगायतका प्रतिपक्षी दलहरुले छानबिन समिति गठनको प्रतिबद्धता सरकारले जनाए सदन अवरुद्ध नपार्ने बताइरहेका छन् ।
तर, सत्ता पक्ष भने गृहमन्त्रीमाथि छानबिनको कुनै जरुरत नरहेको भन्दै बचाउमा उत्रिएको छ । १३ जेठदेखि संसद निरन्तर अवरुद्ध भइरहँदा पनि सदन सुचारु गर्न भूमिका नखेलेको भन्दै सभामुख देवराज घिमिरिेको समेत आलोचना हुन थालेको छ ।
आइतबार सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँग सदन खुलाउने विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखका्े कार्यकक्षमा कांग्रेस, माओवादी र रास्वपाका प्रमुख सचेतकसँग गरिएको छलफलमा पनि सहमति जुट्न सकेन ।
सिंहदरबारमा सभामुख घिमिरेसहित कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेशकुमार बर्तौला, माओवादीका हितराज पाण्डेबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
बैठक पछि एमालेका प्रमुख सचेतक बर्तौलाले गृहमन्त्री माथिको छानबिनका लागि समिति गठन गर्न नसकिने बताए । उनले विपक्षी दलको राजीनामा र छानबिन समिति गठनको माग पूरा गर्न नसकिने बताउँदै सदनको अवरोध खोल्ने विषयमा सहमति हुन नसकेको जानकारी दिए ।
प्रतिक्रिया