सरकारी कर्मचारी शंकर पाठक अखिलको उम्मेदवार !

विहीबार, २९ जेठ २०८२, १३ : ००

काठमाडौं– अनेरास्ववियुको २४ औं महाधिवेशनमा सरकारी कर्मचारी समेत उम्मेदवार बनेको पाइएको छ । दोलखाको भीमेश्वर नगरपालिकाका पशु सेवा सहायक चौथोमा करारमा कार्यरत शंकर पाठक अनेरास्ववियुको चुनाव लड्न लागेका हुन् । उनी बागमती प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्यमा उठेका छन् । 

अनेरास्ववियु निर्वाचन कमिटीले सार्वजनिक गरेको नामावली अनुसार उनी बागमती प्रदेशबाट खुला तर्फ उम्मेदवारी दिएका हुन् । प्रमुख प्रशासकीय अधिकृत बिशकसेन ढकालले उम्मेद्वार बनेको आफुलाई जानकारी नभएको बताए । उनी करारका कर्मचारी भए पनि निजामति सेवा ऐन अनुसार नै काम गर्नुपर्ने बताए । 

‘एक गाउँ, एक प्राविधिक’ अन्तर्गत उनी विगत लामो समयदेखि काम गर्दै आएका छन् । २०७३ सालदेखि राखिएको उनी त्यतिबेलादेखि नै निरन्तर काम गर्दै आएका छन् । उनको ४० प्रतिशत तलब नेपाल सरकार र ६० प्रतिशत नगरपालिकाले दिने गरेको छ । 

यो नगरमा कांग्रेसले मेयर जितेको थियो । काग्रेसबाट ईश्वर नारायण मानन्धर मेयर जितेका हुन् भने उपमेयरमा एमालेबाट कमला बस्नेतले चुनाव जितेकी हुन् । नगरमा उपमेयर सहित बहुमत सदस्यमा एमालेका जनप्रतिनिधि छन् । उपमेयरको आडमा एमालेका गतिविधिमा उनी सक्रिय रहदै आएको कर्मचारीहरुले बताउने गरेका छन् ।

अनेरास्ववियुको विधानमा सरकारी कर्मचारी संगठनको कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । २०७९ को तेस्रो नीति तथा विधान सम्मेलनबाट पारित अनेरास्ववियुको विधानमा सरकारी कर्मचारीसहित अन्य विभिन्न संघसंस्थामा आबद्ध भएका पनि उम्मेदवार बन्न नपाउने प्रावधान रहेको छ ।

akhil2

321581e3-365e-43d9-af5a-0e87b99610df

5b1d8b0e-f0b0-42d1-9156-1963623d8858

विहीबार, २९ जेठ २०८२, १३ : ००

प्रतिक्रिया