काठमाडौं– संसदमा दबंग शैलीमा प्रस्तुत हुने माओवादी केन्द्रका सांसद राजन दाहाल आफू निकटका नेताहरु एकपछि अर्को विवादमा तानिएपछि जिल्लामा कमजोर बन्दै गएका छन् ।
सिन्धुली–२ बाट निर्वाचित सांसद दाहालका विश्वासपात्रहरु पालैपालो अनेकौं प्रकरणमा मुछिएर विवादित भएपछि उनी जिल्लामा कमजोर बन्दै गएका हुन् ।
केही दिन अघि मात्रै दाहाल निकट सिन्धुलीका जनप्रतिनिधि समेत रहेका दुई नेतालाई माओवादी बागमती प्रदेश समितिले अनुशासन विपरीत काम गरेको बताउँदै चेतावनीसहित लिखित आत्मालोचना र प्रतिबद्धता जनाउन निर्देशित गरिएको छ ।
यस अघि दाहाल निकटस्थ दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारलाई बालिका बलात्कारको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बलात्कार आरोपी दुधौलीका मेयर दाहालका अत्यन्त विश्वासपात्र हुन् ।
मेयर अधिकारी विरुद्ध किटानी जाहेरी पर्नुअघि सांसद दाहालले उनै आरोपीलाई जोगाउन राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल समक्ष पुर्याएका थिए । सुरुमा राष्ट्रिय सभा अध्यक्ष दाहालसहित अन्य माओवादी नेताहरुले उजुरी नलिन दबाब दिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पीडित बालिकाको किटानी जाहेरी लिन मानेको थिएन ।
उक्त घटना गुपचुपमा मिलाउने प्रयास गरिए पनि पीडित बालिकाबाट बच्चा समेत जन्मिएको प्रमाण पेश गरिएपछि मात्रै प्रहरी जाहेरी लिन बाध्य भएको थियो । यसको अनुसन्धानका लागि डिएनए परीक्षण गर्नेसम्मको तयारीमा रहेको प्रहरीले जनाएको छ । यद्यपि, मेयर अधिकारी भने हालसम्मै फरार रहेको बताइएको छ ।
बलात्कारको आरोप लागेपछि फरार रहेका मेयर अधिकारी त्यसबाट उन्मुक्ति पाउन राष्ट्रियसभा अध्यक्ष दाहाल सहित अन्य माओवादीका शीर्ष नेतासम्मै पुगेका थिए । उनको भेटघाटको सहजीकरण सांसद राजन दाहालले गरेका थिए ।
अहिले फेरि उनै सांसद दाहाल निकट जिल्लाका दुई नेतालाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै माओवादी बागमती प्रदेश कार्यालयले लिखित आत्मालोचना गर्न निर्देशित गरेको छ।
पार्टीको जिल्ला सचिव भइसकेका ज्वाला प्रसाद न्यौपाने ‘पुकार’ र जिल्लाकै अर्का नेता बज्रध्वज वाइबालाई अनुशासन विपरीत कार्य गरेको आरोपमा बागमती प्रदेश समितिले सचेत गराएको हो ।
यी दुबैले निम्न स्तरमा उत्रिएर सामाजिक सञ्जालमा एक अर्कालाई अरोप प्रत्यारोप गर्दै आएका थिए । माओवादी बागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले दुबै नेतालाई आगामी दिनमा अराजक र व्यक्तिगत तहमै उत्रिएर टिकाटिप्पणी नगर्न सचेत गराउँदै लिखित निर्देशन जारी गरेका छन् ।
सिन्धुलीमा सांसद राजन दाहालका निकटस्थ रहेका वाइवा माओवादीबाट निर्वाचित हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष हुन् भने न्यौपाने गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष हुन् ।
सांसद दाहालकै स्वकिय सचिव रहेका गणेश रत्न समेत दाहालका क्रियाकलापप्रति असन्तुष्ट रहेर राजीनामा दिने तयारी थालेका थिए । तर, दाहालले फकाएर उनलाई अहिलेसम्म आफ्नो सचिवालयमै राखिरहन सफल भएका छन् ।
प्रतिक्रिया