विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

शनिबार, ३१ जेठ २०८२, १२ : ००

काठमाडौं- विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण सुरु गरिएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा रु ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युत्को पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युत्को पहुँच विस्तार गर्ने कार्यक्रमअन्तर्गत सोलार वितरण गरिएको छ । -रासस

शनिबार, ३१ जेठ २०८२, १२ : ००

प्रतिक्रिया