बजेटमाथिको सैद्धान्तिक छलफल : प्रतिपक्षीको विरोध, सत्तापक्षको बचाउ

सोमबार, ०२ असार २०८२, १५ : ०६

काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा सहभागी सत्तापक्षका सांसदहरूले बजेटको बचाउ गरेका छन् भने प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरू बजेटको बचाउ र विरोधमा उत्रेका हुन् । सत्तापक्षका एमाले सांसद पदम गिरीले समग्रमा बजेट प्राथमिकतामा आधारित तथा श्रोतको प्रक्षेपण ठिकसँग गरिएकाले बजेटबाट उत्पादन र उत्पादकत्व बढ्ने विश्वास गरे । 

‘आयोजनाको सङ्ख्या धेरै हदसम्म घटाइएको छ, यो वैज्ञानिक छ । अर्थतन्त्र लयमा फर्काउने दिशामा रहेको छ । निजी क्षेत्रलाई उत्साहित बनाएको छ’, गिरीले भने, ‘बजेटले स्टार्टअपमार्फत रोजगारी सिर्जना गर्ने र आन्तरिक उत्पादनमा जोड दिएको छ यो सकारात्मक छ ।’

उनले विपक्षी दलका सांसदहरूले बजेटको विरोध गरेपनि विगतका कमीकमजोरी आत्मसमिक्षा गर्दै नयाँ ढङ्गले अघि बढ्ने सङ्कल्प गर्नुपर्ने बताए ।  ‘आज म ठिक तँ बेठिक । म भए देश बन्थ्यो, तँ हुँदा बनेन भन्ने जस्तो भाष्य स्थापित गर्ने कोसिस गरिएको छ’, उनले भने, ‘यो धेरै दिन टिक्ने विषय होइन । यथार्थको जगमा हामी सबै उभिनुपर्छ । त्यसलाई आत्मसाथ गर्न सकियो भने गन्तव्यमा पुग्न सक्छौ ।’

 माओवादीका सांसद शक्ति बस्नेतले  सरकारले तथ्यलाई नाङ्गो रूपमा छोप्ने कोसिस गरेको बताए । ‘आधा भन्दा धेरै योजना ३ करोडभन्दा तलका होइन, २०,२५ लाखका पनि नयाँ योजना छन्’, बस्नेतले भने, ‘शहरी विकास मन्त्रालयका मन्त्री र सचिवलाई यति धेरै बजेट कसरी आयो भनेर सोध्दा अर्थ मन्त्रालयले थपिदिएको छ रे भन्ने जवाफ पाइन्छ ।’ उनले तथ्यलाई धुवाको पर्दा लगाएर छोप्ने गरेको भन्दै सांसद र जनताले हेरिरहेको बताए ।

एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटमा सरकारका मन्त्रीहरूको एकलौटी कब्जा भएको बताए । ‘खासगरी नेताका बुवा, आमा र पार्टी र जनसङ्गठनका पार्टी कार्यालय बनाउन अरबाैँ बजेट बाँडिएको छ । जबकि दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छट्पटाएका छन् ।’

सोमबार, ०२ असार २०८२, १५ : ०६

प्रतिक्रिया