नाफिज र उद्योग परिसंघबीच ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी

बुधबार, ०४ असार २०८२, १० : १४

काठमाडौं- ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ र नेपाल उद्योग परिसंघबीच समझदारी भएको छ । 

समझदारी पत्रमा नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष मेनुका कार्की र नेपाल उद्योग परिसंघका अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालले  हस्ताक्षर गरेका हुन् । 

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरि मङ्गलवार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।

गत २९ मंसिरमा सम्पन्न नाफिजको १५ औँ वार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले आफ्नो स्वर्गीय पिता श्रवणकुमार अग्रवालको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।

गत साउनमा निधन भएका श्रवण कुमार अग्रवाल आरएमसी ग्रुपका संस्थापक हुन् । मारवाडी सेवा समितिका पूर्व अध्यक्ष समेत रहेको श्रवण कुमार अग्रवाल संविधान सभा सदस्य समेत हुन् । उनको स्मृतिमा छोरा राजेश कुमार अग्रवालले अक्षयकोष स्थापना गर्ने घोषणा गरेपछि थप आवश्यक प्रक्रिया पुरा गरेर मङ्गलवार समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । फेलोसिप दिने गरि नाफिजमा स्थापना हुन लागेको यो नै पहिलो अक्षयकोष हो ।

समझदारीअनुसार अध्यक्ष अग्रवालले व्यक्तिगत रूपमा अक्षयकोषमा सात लाख रुपैयाँ जम्मा गर्नेछन् । नाफिजले त्यस अक्षय कोषबाट वार्षिक रूपमा एक जना आर्थिक पत्रकारलाई ५० हजार रुपैयाँ बराबरको फेलोसिप प्रदान गरिनेछ ।

खोजमूलक आर्थिक समाचार लेखनका लागि फेलोसिप प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ । फेलोसिप प्राप्त गर्ने पत्रकारलाई नाफिजले मेन्टर पनि उपलब्ध गराउनेछ ।

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ प्रदान गर्न तीन जनाको छनोट समिति गठन गरिनेछ । 
 

बुधबार, ०४ असार २०८२, १० : १४

प्रतिक्रिया