काठमाडौं- न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर ठिमीको बोडेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य, वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका हुन्।
यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको वस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो ।
अरुमा निर्भर हुन नपर्नेगरी जेष्ठ नागरिकहरुलाई आंशिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सीप सम्बन्धिको तालिम दिइएको समूहकी अध्यक्ष शिला सायमिले बताइन् । उनका अनुसार ३२ जनालाई लप्ते सिलाई तालिम दिइएको छ भने २० जनालाई सुकुल बुन्ने र १० जनालाई सुकुल र लप्ते बनाउने तालिम दिइएको छ ।
तालिममा दुई पटक सम्म भिमरथारोहण गरेका (८२ वर्ष नाघेका) देखि ६० वर्ष उमेरमाथिका वृद्धाहरू सहभागी भएका थिए ।
प्रशिक्षकहरूमध्ये ललितपुर थसिस्थित सुजाता महर्जनले सुकुल बुन्ने तालिम दिइन् र काठमाडौंकी पटनादेवी रञ्जितले लप्ते बनाउने तालिम दिइन् ।
वैशाख ७ गते उद्घाटन गरिएको तालिम जेठ ३० गते सकाएर असार ३ गते समापन समापन गरिएको थियो । समूहले विगत १० वर्षदेखि वृद्धवृद्धाहरूलाई दिवा हेरचाह सेवा प्रदान गर्दै आएको छ ।
संयुक्त परिवारमा बसे पनि छोराबुहारी आआफ्नै काममा जाने र नातीहरु स्कूल र कलेज जानेहुँदा जेष्ठ नागरिकहरु दिनभर घरमै एक्लो हुने गरेका छन् । त्यसैले समूहले दिनभर उनीहरूलाई भेला गरेर कथा सुनाउने, उनीहरूसँग कुराकानी गर्ने र घुम्न लैजाने काम गरिरहेको छ ।
यसैबीच, समूहले हालै वृद्धवृद्धाहरूलाई आंशिक रूपमा आत्मनिर्भर बनाउन सीप विकास तालिम प्रदान गरेको छ ।
प्रतिक्रिया