काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि अमेरिका भ्रमणको क्रममा हावर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा त्यहाँ अध्ययन सकाएका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेपछि एक नेपाली स्वदेश फर्किएको समाचार सरकारी सञ्चारमाध्यममा बुधबार निकै स्थान पायो ।
अमेरिकास्थित मासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी(एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पा प्रधानमन्त्री ओलीको आग्रहलाई स्वीकारेर स्वदेश फर्किएको बताइएको छ ।
उनले मुलुककै हितका लागि आफ्नो विज्ञता उपयोग गर्ने बताएर फर्किए पनि श्रमिकका रुपमा युद्धरत देश पुगेका नेपाली भने स्वदेश नफर्कने अड्डी कसेका छन् । इरान इजरायल युद्ध सुरु भएपछि ती देशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कर्ने प्रक्रियाका लागि फाराम भर्न इजरायलस्थित नेपाली दूतावासले आग्रह गर्दा उनीहरुले सार्वजनिक रुपमै अस्वीकार गरेका छन् ।
इजरायलस्थित गैर आवासीय नेपाली संघ(एनआरएनए)ले समेत त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरणबनाउन सहजीकरणगर्न खोज्दा कुनै रुचि नदेखाएको एक एनआरएनए अभियान्ताले बताए ।
यसअघि युद्धरत मुलुक रुस पुगेर कैयौं नेपालीले ज्यान गुमाइसकेका छन् भने कतिपय घाइते भएर स्वदेश फर्किएका छन् । केहीको अवस्था अझै अज्ञात रहेको बताइन्छ ।
रुस युक्रेन युद्धमै सरिक रहेका नेपालीहरुले सामाजिक सञ्जालमार्फत त्यतैको नागरिकता र राहदानी पाइने भन्दै नेपाल फर्कने कुनै रुचि देखाएका छैनन् ।
अहिले पनि इरान इजरायल युद्ध चल्दा समेत इजरायलमा रहेका नेपालीहरु रोजगारी गुम्ने भयले स्वदेश फर्कन समेत तयार नभएको ती एनआरएनए अभियान्ताले जानकारी दिए ।
मुलुकमा व्याप्त बेरोजगारीको विकराल समस्याले नेपाली युवाहरु जोखिमपूर्ण कामका लागि समेत विदेश जाने गरेका छन् । उनीहरु जोखिम मोलेर युरोप अमेरिका देखि युद्धग्रस्त मुलुक रुस युक्रेन हुँदै मध्यपूर्वका देशमा समेत पुगेका छन् । नेपालीहरु रोजीरोटीका लागि जीवन नै दाउमा राखेर रोजगारी गर्नुपर्ने बाध्यात्मक अवस्थाले मुलुकको पीडादायी दुर्दशा दर्शाउँछ ।
प्रतिक्रिया