आरआर क्याम्पसको नयाँ स्ववियु समितिले पायो वैधानिकता, असन्तुष्ट समूहको रिट खारेज

विहीबार, ०५ असार २०८२, १३ : ५३

काठमाडौं- रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सम्बन्धी लामो समयदेखि चल्दै आएको विवाद अन्ततः टुंगोमा पुगेको छ। उच्च अदालत पाटनले रिट खारेज गर्दै स्ववियुलाई पूर्ण रुपमा वैधानिकता प्रदान गरेको हो।

बिनोद राज जोशीसहितले दायर गरेको रिट र रविन राज खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै रिट खारेज गर्ने फैसला गरेको हो। वादीहरुले स्ववियु गठनमा आफूहरुलाई समावेश नगरिएको र प्रक्रियागत त्रुटि भएको दाबी गर्दै रिट दायर गरेका थिए।

नेवि संघ निकट असन्तुष्ट समूहले आफूहरुको जानकारीविना स्ववियु समिति घोषणा गरिएको आरोप लगाउँदै रिट दायर गरेका थिए। तर, अदालतले माग अनुरूप स्ववियु खारेज गर्नु पर्ने कुनै वैधानिक आधार नभएको ठहर गरेको छ।

यो फैसलासँगै सभापति लोकेश कुमार खड्का र सचिव शैलेन्द्र उपाध्यायको नेतृत्वमा रहेको वर्तमान स्ववियुले विधिवत रूपमा आफ्नो कार्यकाल अगाडि बढाउने भएको छ।

यसअघि स्ववियु गठन प्रक्रियामै असहमति जनाउँदै केही समूहले निरन्तर विवाद गर्दै आएका थिए। अदालतको स्पष्ट निर्णयसँगै अब स्ववियु आफ्ना नियमित क्रियाकलाप अघि बढाउन बाधा नहुने विद्यार्थी नेताहरुले प्रतिक्रिया दिएका छन्।

विहीबार, ०५ असार २०८२, १३ : ५३

प्रतिक्रिया