सांसदको चर्तीकला

विवादमा कांग्रेस सांसद घिमिरे : यौन व्यवसाय खुला गर्ने प्रस्तावदेखि भिजिट भिसामा स्वेच्छाले पैसा तिरेर गएको जिकिर

शुक्रबार, ०६ असार २०८२, १० : ३३

काठमाडौं- कांग्रेस सांसद श्याम घिमिरे सदनमा आपत्तिजनक अभिव्यक्ति दिएर विवादमा आइरहने पात्र हुन् । यस अघि यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव संसदमा राखेर चौतर्फी विवादमा आएर पछि सार्वजनिक रुपमै माफी माग्न बाध्य भएका थिए । 

भिजिट भिसामार्फत भइरहेको मानव तस्करीको विषयमा सदनदेखि सडकसम्म आक्रोशित भइरहेको बेला कांग्रेसका प्रमुख सचेतक समेत रहेका घिमिरेले भिजिट भिसा प्रकरणलाई मानव बेचबिखनसँग जोड्न नमिल्ने बताएका छन्। आफ्नै पार्टीका गृहमन्त्री जोडिएको भिजिट भिसा प्रकरणमा मानव तस्करी नभएको जिकिर गर्दै उनले आफ्नै इच्छाले नेपालीहरु पैसा तिरेर विदेशिएको बताउन थालेका हुन् ।

नक्कली कागजात बनाएर संगठित रुपमै त्रिुभवन विमानस्थलबाट भिजिट भिसामा नेपाली पठाउने गिरोहमा अध्यागमनका कर्मचारीदेखि गृहमन्त्रीसम्म जोडिएको विषय सार्वजनिक रुपमै सतहमा आएको छ । तर आफ्नो दलका गृहमन्त्री रमेश लेखकको बचाउमा कांग्रेस पूर्णतया उभिएर उनको संलग्नता नरहेको भन्दै बचाउ गरिहेको छ ।

यस अघि सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई नैतिकताको पाठ पढाउँदै राजीनामा दिन सुझाउने कांग्रेस सांसदहरु अहिले भिजिट भिसा प्रकरणमा आफ्नो दलका गृहमन्त्री निर्दोष रहेको सफाई दिँदै हिँडेका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भने, ‘यो पैसा लिएर पठाउने कुरा भएको हो। जान चाहनेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। तर, तपाईंलाई लगेर मैले कहीँ बेचेँ, पैसा लिएर तपाईंलाई कहीँ पु¥याएर लाभ लिएँ भने पो मानव बेचबिखन हुन्छ त। जेलाई पनि मानव बेचबिखन भनिदिने?’ यस बारेमा उनको थप प्रतिक्रिया लिन सम्पर्क गर्दा घिमिरे अनावश्यक रुपमा कड्किएर आफू केही नबोल्ने बताए । 

शुक्रबार, ०६ असार २०८२, १० : ३३

प्रतिक्रिया