काठमाडौं - काठमाडौँ महानगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि काम गर्न नसकेको भन्दै आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सँघले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महानगरले भूमिहीन गरिबको पक्षमा काम गर्न नसकेको ठहर गर्दै ज्ञापन पत्र बुझाउन गएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले त्यस्तो चेतावनी दिएको हो । आज बिहान कमलादीस्थित महानगर कार्यालयमा प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेलाई बुझाइएको ज्ञापन पत्रमा भूमि समस्या समाधान आयोगले सुकुम्बासीको लागत संकलन गर्न खोजेकोमा महानगरले बाधा हालेको गुनासो गरिएको छ ।
संघका अध्यक्ष काल बहादुर बिकको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, ‘भूमि समस्या समाधान आयोगले लागत संकलन गर्छु भनी जारी भएको ३५ दिनको सूचनाका आधारमा महानगरले पत्र जारी गरेको हुनाले आम सुकुम्बासीहरु खुशी भएको थियो तर, २ गतेको पत्रले सुकुम्बासीलाई दुखित बनाएको छ ।’
महानगरले व्यवस्थापन गर्नुपर्नेमा गरिब सुकुम्बासी निमुखालाई अधिकारविहीन बनाइरहेको निस्कर्ष निकाल्दै ज्ञापन पत्रमा घोर निन्दा र भर्त्सना गरिएको छ । महानगर नसच्चिए कार्यालय घेराउ गर्न बाध्य जानकारीका साथै ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया