इरान र इजरायल बिचको युद्ध सात दिनदेखि निरन्तर चलिरहेको छ। यो द्वन्द्वले मध्यपूर्वमा तनावको स्थिति सृजना गरेको छ भने विश्व शक्तिहरूको ध्यान पनि यो क्षेत्रमा केन्द्रित भएको छ। अमेरिकाले इरानसँग आणविक हतियार बनाउने क्षमता रहेको चेतावनी दिएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार पत्रकार सम्मेलनमा भनिन्, ‘इरानसँग अब आणविक हतियार बनाउने पूर्ण क्षमता छ। यदि सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आदेश दिए भने इरानले केही हप्तामै आणविक बम बनाउन सक्छ।’
उनले थपिन्, ‘इरानसँग आवश्यक सामग्री र प्रविधि छ, अब केवल नेतृत्वको निर्णयको पर्खाइमा छ।’ यसले इजरायल, अमेरिका र सम्पूर्ण विश्वको सुरक्षालाई खतरामा पार्ने उनको भनाइ छ। लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कूटनीतिक समाधानको पक्षमा रहेको कुरामा पनि जोड दिइन्। तर इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द नभए कडा कदम चाल्ने संकेत उनको थियो।
इरानले लगातार दोस्रो दिन इजरायली सहर बेरशेबामा क्षेप्यास्त्र (मिसाइल) आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार एउटा इरानी क्षेप्यास्त्रले अपार्टमेन्ट ब्लक नजिकै प्रहार गर्दा धेरै कारमा आगलागी भएको छ भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ।
युद्धमा इजरायलमा २४ जनाको मृत्यु भएको छ भने छ सयभन्दा बढी घाइते भएका छन्। यता वासिङ्टनस्थित एक मानव अधिकार समूहले इरानमा छ सय ३९ जनाको मृत्यु हुनुका साथै एक हजार तीन सय २९ जना घाइते भएको दाबी गरेको छ।
इजरायली सेनाले बिहीबार राति तेहरानमा दर्जनौँ सैन्य र आणविक लक्ष्यमा आक्रमण गरेको जनाएको छ। सेनाले इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास केन्द्र, एसपिएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित मिसाइल उत्पादन स्थलहरूलाई निशाना बनाएको दाबी गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार एक अन्तर्वार्तामा इरानको फोर्डो आणविक प्लान्टसहित अन्य सुरक्षित ठानिएका स्थानमा आक्रमण गर्ने योजना रहेको बताएका थिए। उनले भने, ‘इरान आणविक हतियारको दिशामा अघि बढिरहेको छ, र हामीले यो रोक्नैपर्छ। अमेरिकाको समर्थन नभए पनि हामी इरानका सबै आणविक प्लान्ट नष्ट गर्न तयार छौँ।’
नेतान्याहूले इजरायलसँग फोर्डो जस्ता सुरक्षित स्थानमा पनि आक्रमण गर्ने क्षमता रहेको दाबी गरेका छन्। उनले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा युद्धमा इजरायललाई रोकेको आरोप लगाउँदै ट्रम्पले कुनै अवरोध नगरेको जिकिर समेत गरे।
युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासमा युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार इरानी समकक्षसँग वार्ता गर्ने तयारी गरेका छन्। अर्कोतिर ट्रम्पले अमेरिकी संलग्नताबारे दुई हप्ताभित्र निर्णय लिने बताएका छन्। उनको यो बयानपछि अमेरिका तत्काल युद्धमा सामेल हुने अनुमानलाई गलत साबित गरेको छ।
ट्रम्पको यो यू टर्न नेटोको समर्थन नहुनु र जी ७ देशहरूबाट इरान सम्बन्धी योजनामा पूर्ण सहमति नजुट्नु रहेको बताएका छन्। चीन, रुस र उत्तर कोरियाले इरानको पक्ष लिएर खुला समर्थन जनाएका छन्। तर यदी अमेरिका युद्धमा सामेल भयो भने यी देशहरुले कसरी प्रतिकृया जनाउँछन् त्यो हेर्न बाँकी छ। उत्तर कोरियाका नेता किम जोङ उनले बिहीबार इजरायललाई ‘क्यान्सर’ को संज्ञा दिँदै उन्मूलन आवश्यक रहेको विवादास्पद बयान दिएका थिए।
इरानका सर्वोच्च नेता खामेनीले अमेरिका र इजरायललाई चेतावनी दिँदै भनेका छन् , ‘हामी आत्मसमर्पण गर्दैनौँ। यदि अमेरिकी सेना यो युद्धमा सामेल भयो भने गम्भीर परिणाम भोग्नुपर्नेछ।’ इरानले हालसम्म चार सय ५० क्षेप्यास्त्र र एक हजारभन्दा बढी ड्रोन इजरायलमा प्रहार गरेको दाबी गरेको छ।
यो युद्धले विश्व ऊर्जा बजारमा पनि प्रभाव पारिरहेको छ। जी ७ देशहरूले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न कडा अडान लिएका छन्। रुस र चीनले भने युद्धविरामको लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन्।
इरानले इजरायलको लागि जासुसी गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको भनेको छ। इरानी प्रहरीका अनुसार यी व्यक्तिहरूलाई इरानी सरकारको छवि बिगार्ने र जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।
इरान र इजरायल बिचको यो युद्धले मध्यपूर्वमा ठूलो संकट निम्त्याएको छ। अमेरिकाको आणविक चेतावनी र इजरायलको कडा सैन्य कारबाहीले परिस्थिति थप जटिल बनेको छ। कूटनीतिक प्रयासहरू असफल भएमा यो द्वन्द्व विश्व युद्धको रूप लिन सक्ने खतरा रहेको विज्ञहरूले चेतावनी दिएका छन्।
एजेन्सी
प्रतिक्रिया