शारदा नगरपालिकाको बजेट १ अर्ब १९ करोड

शुक्रबार, ०६ असार २०८२, १४ : ४२

काठमाडौं - सल्यानको शारदा नगरपालिकाले १ अर्ब १९ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । यस वर्ष जिल्लामै पहिलो पटक विहीबार नगरपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको हो । 

नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको नगरसभाको अधिवेशनमा नगर उपप्रमुख सुस्मिता सापकोटा (सुनार)ले आर्थिक वर्ष २०८२र०८३ को लागि १ अर्ब १९ करोड २९ लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन । नगरसभाले सो बजेटलाई सर्वसम्मतरूपमा पारित गरेको छ । यस नगरपालिकाले अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा ८२ करोड ७१ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटको स्रोततर्फ दुई करोड रुपैयाँ आन्तरिक आयबाट उठाउने योजना छ भने एक अर्ब १७ करोड २९ लाख १२ हजार रुपैयाँ प्रदेश तथा संघ सरकारबाट प्राप्त अनुदानबाट व्यहोर्ने लक्ष्य राखिएको छ । आन्तरिक आम्दानीतर्फ भूमि तथा मालपोत कर, व्यवसाय कर, सेवा शुल्क, जरिवाना, मालपोत कार्यालयबाट प्राप्त हुने रकम, र अन्य शुल्कहरूबाट करिब दुई करोड रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ । संघीय र प्रदेशबाट समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त र समपूरक, सामाजिक सुरक्षा भत्ता, विशेष अनुदानलगायत शीर्षकबाट ठूलो मात्रामा अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।

शुक्रबार, ०६ असार २०८२, १४ : ४२

प्रतिक्रिया