काठमाडौं– पुँजीबजार प्रवधिमैत्री भएसँगै लगानीकर्ताको बढ्दो आकर्षणका कारण डिम्याट खाता (हितग्राही खाता) खोल्ने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ को असार २० गतेसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६८ लाख ६५ हजार पुगेको हो ।
नेपाल धितोपत्र बोर्डको आर्थिक वर्ष २०८२/०८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धि प्रस्तुत नीति तथा कार्यक्रममा डिम्याट खाता (हितग्राही खाता) मा बढोत्तरी भएको उल्लेख गरेको हो । पुँजीबजार दिनानुदिन प्रविधिमैत्री हुँदै जाँदा लगानीकर्ता थप आकर्षित भइदिँदा यसको क्षेत्र थप फराकिलो भएर थप डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा बढोत्तरी भइरहेको छ । पुँजीबजारमा प्रवेश गर्नका लागि प्रवेशविन्दुको रुपमा हेरिएको डिम्याट खाताको मद्दतले लगानीकर्ताले देश–विदेशमा रहि सेयर कारोबार गर्न सक्ने भएकाले पुँजीबजार विकासका लागि हितग्राही खाताको संख्यामा सुधार देखिनु सकारात्मक मानिन्छ ।
पुँजीबजारमा पहिले शहर केन्द्रित कारोबारको हिस्सा ठुलो थियो । नेपालको गाउँ–गाउँ र विभिन्न क्षेत्रमा कारोरबारको विस्तार भइसकेको थिएन । धितोपत्रको प्राथमिक बजारमा नयाँ–नयाँ कम्पनीको आइपिओको निष्काशनसँगै स्थानीयले यसको लाभ लिनको लागि प्रविधिको विकासलाई पछ्याउँदै अघि बढ्दा लगानीकर्ताले डिम्याट खाता खोल्न थालेका हुन् । कारोबारका लागि ब्रोकर अफिस धाउने बाध्यता, राफसाफका लागि लामो समय कुर्नुपर्ने बाध्यता र तत्कालिन समयमा तोकिएको मूल्यमा कारोबार गर्न पाउने भएकाले अब दुर्गम भेगसम्म कारोबार गर्न पाउनुमा डिम्याट खाताको भूमिका ठुलो छ ।
किन बढ्यो डिम्याट खाता (हितग्राही खाता) ?
प्रविधिको विकाससँगै कारोबारका लागि ब्रोकर अफिस धाउने र राफसाफका लागि लामो समय कुर्नुपर्ने युगको करिब–करिब अन्त्य नै भइसकेको छ । हाल पुँजीबजारमा सहज कारोबार गर्नका लागि डिम्याट खाता (हितग्राही खाता), मेरे सेयर खाता र अनलाईन युजरनेममा लगानीकर्ता जोडिन थालेका छन् । यसको मद्दतले मुलुकको दुर्गम भेगदेखि विदेशको हरेक शहरबाट पुँजीबजारको कारोबार गर्न सक्ने क्षमता लगानीकर्तामा विकास भइसकेको छ । प्रविधिमा जोडिने लगानीकर्ताको संख्यामा पनि उल्लेखनीय सुधार आइसकेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को असार २० गतेसम्म डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६८ लाख ६५ हजार पुगिसकेको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा डिम्याट खाता (हितग्राही खाता) खोल्ने लगानीकर्ताको संख्या ६२ लाख ७२ हजार ३ सय ५१ रहेको थियो । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६ लाखले बढेको हो ।
‘थप लगानीकर्ता डिम्याट खातामा जोडिनुलाई राम्रो नै मानिन्छ । पुँजीबजारमा यसको प्रभाव सकारात्मक छ । विगतमा नयाँ–नयाँ कम्पनीको आइपिओ आइरहँदा स्थानीयलाई पनि यो सुविधा दिने गरिन्थ्यो । हाइड्रो र दुर्गम भेगका गाउँमा रहेका कम्पनीको सेयरको लाभ लिन स्थानीयले डिम्याट खाताको सहारा लिन थाले । विदेशमा रहेका नेपालीले सेयर खरिद–विक्रिका लागि पनि डिम्याट खाता नै प्रयोग गर्नुपर्ने भएकाले हाल धेरै लगानीकर्ता डिम्याट खातामा थपिएका हुन् ।’, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले आजको अर्थलाई बताए ।
आर्थिक वर्ष २०७९/०८० को अन्त्यमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ५८ लाख २३ हजार रहेको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक बर्ष २०८०/०८१ मा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ५ लाखले बढी हो । तीन आर्थिक वर्षमा क्रमश डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्यामा बढोत्तरी हुँदै आएको छ ।
‘पहिले विमा कम्पनी र नेप्सेका कर्मचारी, मारवाडी समुदायका सिमित व्यक्तिहरु मात्रै सेयर बजारमा थिए । त्यो बेला ओपन क्राईबाट कारोबार हुन्थ्यो । कारोबार झन्झटिलो भएकाले संख्या कम थियो । नयाँ–नयाँ कम्पनी आएसँगै आईपिओ निष्काशन र आकर्षण बढ्यो । तर रोजगारीको क्षेत्र धेरै भएन । लगानीको लागि पुँजीबजार मात्रै राम्रो विकल्प हुन थाल्यो । गृहणीले घरमा बसेर आईपिओ भर्न थाले । उनीहरुले प्रविधिमा जोडिएर डिम्याट खाता खोलेर घरै बसेर सेयर कारोबार गर्न थाले । १० कित्ते नीतिले थप लगानीकर्तालाई सेयर बजारमा लोभ्याउँदा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या बढेको हो ।’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले जानकारी गराए ।
मेरो सेयर खाता र अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या पनि उस्तै
आर्थिक वर्ष २०८१/०८२ को असार २० गतेसम्म मेरो सेयर खाता लिनेको संख्या ५९ लाख ३३ हजार ७ सय पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्म मेरो सेयर खाता लिनेको संख्या ५३ लाख २२ हजार ९ सय ६९ पुगेको थियो ।
आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा मेरो सेयर खाता लिनेको संख्या ६ लाखले बढेको छ । आर्थिक वर्ष २०७९÷०८० को अन्त्यमा मेरो सेयर खाता लिनेको संख्या ४७ लाख ४१ हजार ५५ पुगेको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा मेरो सेयर खाता लिनेको संख्या ६ लाखले बढेको हो । तीन आर्थिक वर्षमा मेरो सेयर खाता लिनेको संख्यामा क्रमशः ६–६ लाखले बढोत्तरी हुँदै आएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को जेठ मसान्तमा अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या २६ लाख ३३ हजार ५ सय १० पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या २२ लाख १६ हजार २ सय ४७ रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या ४ लाखले बढेको हो ।
आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्म अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या १७ लाख ६३ हजार ३ सय १ रहेको थियो । आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या ४ लाखले बढेको हो । तीन आर्थिक वर्षमा अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या क्रमश ४–४ लाखले बढेको छ ।
धितोपत्र बजार र बैंक तथा वित्तीय संस्थाको अवस्था
प्रविधिसँग जोडिएसँगै डिम्याट खाता, मेरो सेयर खाता र अनलाईन युजरनेम लिने लगानीकर्ताको संख्या ह्वातै बढेको छ । पुँजबजारमा ६८ लाख लगानीकर्ता प्रत्यक्ष जोडिसकेका छन् । मुलुकको जनसंख्या ३ करोड हाराहारी पुगेको छ । यसले मुलुुकको एक तिहाई (१÷३) जनसंख्या सेयर बजारमा आबद्ध भइसकेको बुझाउँछ । नयाँ प्रविधिले पुँजीबजारमा लगानीकर्तालाई थप आकर्षित गराइरहेको छ । ३० अर्ब रुपैयाँसम्मको कारोबार भइरहेको छ । हाल नेपालको जिडिपि (कुल ग्राहस्थ्य उत्पादन) ६१ खर्ब रुपैयाँ हाराहारी रहँदा सेयर बजारको पुँजीकरण ४८ खर्ब रुपैयाँ पुगेको छ ।
नेप्सेको इण्डेक्स सर्वाधिक ३२ अंक पुगेको अवस्था पनि छ । यसले पुँजीबजारको विकास भइरकेको र लगानीकर्ता पनि थप भइरहेको संकेत गर्दछ । ‘सेयरबजार प्रविधिमैत्री युगमा पुगेको छ । पहिले सेयर बजारको कारोबार ७ दिनमा राफसाफ र ६–७ महिनामा खातामा आउने अवस्था थियो । अहिले २ दिनमा राफसाफ भएर तेस्रो दिनमा खातामा आउँदछ । प्रविधिको विकासले ब्रोकरका लाइन बसेर ३ महिनामा बाँडफाँड र ६ महिनामा लिस्टिङ्ग हुने पद्धतिलाई विस्थापित ग¥यो । घरमा नै बसेर कारोबार र खातामा पैसा आउने भएकाले सेयर बजार सहज भएको छ । यसको विकास छिटो–छिटो भएर लगानीकर्ताको संख्या बढीरहेको हो ।’, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले आजको अर्थलाई बताए ।
हाल बैंक तथा वितीय संस्थामा ७२ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कर्जा प्रवाह ५६ खर्ब मात्रै भएको छ । निक्षेप संकलन र कर्जा प्रवाहबिच १७ खर्ब रुपैयाँ बराबरको खाडल देखिएको छ । अर्थात बैंकिङ्ग प्रणालीमा कर्जा प्रवाहभन्दा निक्षेप संकलन १७ खर्ब रुपैयाँले बढी छ । यसले बैंक तथा वितीय संस्थामा तरलता सहज अवस्थामा रहेको संकेत गर्दछ । निक्षेपतर्फ बचत खातामा बैंक तथा वित्तीय संस्थाले औसतमा ३.३८ प्रतिशतको ब्याजदर कायम गरेको छ ।
त्यसैगरि मुद्दती खाताको ब्याजदर औसतमा ५.९२ प्रतिशत कायम भएको हो । कर्जातर्फ बैंक तथा वित्तीय संस्थाले औसतमा ७.९९ प्रतिशतको ब्याजदर निर्धारण गरेको छ । बैंक तथा वित्तीय संस्थाको बेस रेट ६.१७ प्रतिशतमा सिमित रहेको छ । यसले बैंकको व्याजदर पनि सहज अवस्थामा नै रहेको संकेत गरिरहेको छ । नेपाल राष्ट्र बैंकको २०८२ साल असारको उक्त तथ्याङ्कले बैंक तथा वित्तीय संस्थामा तरलता पर्याप्त र एकल विन्दुको सस्तो ब्याजदर कायम भएको संकेत गरिरहेको छ ।
सेयरबजार प्रविधिमैत्री भएर लगानीकर्ता थप भएको छ भने बैंक तथा वित्तीय संस्थामा पनि तरलता पर्याप्त अवस्थामा छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सेयरबजारमैत्री आएको छ । मौद्रिक नीतिले सेयर बजारमा जाने कर्जाको अनुपातलाई बढाएको अवस्था छ । यसले लगानीको वातावरण बनेको संकेत गरिहरेहेको जानकारहरुले बताइरहेका छन् ।
प्रतिक्रिया